बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै


 


इलाम, साउन ४

इलामको सूर्याेदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए /नआएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो ।

सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिनुभयो । नगर प्रमुख रणबहादुर राईले आफ्नो कार्यकक्षबाट नै कतिजना शिक्षक विद्यालय हाजिर भएको, कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गर्नुभएको छ ।

नगरका तीनवटा विद्यालयमा सो प्रविधि शुरु गरिएको छ । नगरपालिकाका फिक्कल मावि, कृष्णाश्रम मावि र करफोक माविमा पहिलो चरणमा बायोमेट्रिक हाजिरी प्रणाली सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयको नतिजा राम्रो नहुने, शिक्षक, शिक्षिका नियमित विद्यालय नआउने लगायतका गुनासाको सम्बोधन हुने आशाले विद्यालयमा बायोमेट्रिक्स हाजिरी मेसिन राख्न शुरु गरिएको नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्