सत्यकथा-साह्रै नमज्जासँग फसियो


 


sunil sapkota
सुनिल सापकोटा

जिन्दगी छोटो छ ।तर छोटो जीवनमा लामो यात्रा गर्नुपर्ने छ । समय पनि पलभरमा नै बित्दो रहेछ । बचकनाका ति दिनहरुको याद छ हिजो जस्तै लाग्छ । आमाले खाना खुवाएको ।आमाले बाबु छि कति फोहोरी भएको नुहाएर सफा हुनुपर्छ भन्दै चकलेट दिएर नुहाउनका लागि फकाएको । पानी तताएर जिउमा खन्याउँदै हरहर बाबु हरहर भन्दै जिउ मिचिमिची मयल निकालेर नुहाउनु भएको ।

गाउँमा घर गोठ ,बस्तु भाउ ,खेत बारी गर्दै मलाई दु:ख गरेर हुर्काउनु भएको मेरी आमाको याद अझ पनि झलझली आखामा आउँछ । छोरा धेरै पढ्नुपर्छ ठुलो मान्छे बन्नुपर्छ । सत्रुका आगाडि इज्जतका साथ हिड्नुपर्छ । सत्रुलाई हँसाउने काम नगर्नु ,खानदानी बाबुको छोरी बिवाह गर्नु ,धेरै केटीको र जस्तो पायो त्यस्तो केटीको पछाडि नलाग्नु आमाले सधै यस्तै किसिमका अर्ति उपदेश दिने गर्नु हुन्थ्यो ।

आमाले भन्नुहुन्थ्यो पानी खानु मुलको विवाह गर्नु कुलको ।आमा- बुबाको एक्लो छोरो भएकाले परिवारको सम्पूर्ण लगानी नै मेरो उज्ज्वल भविष्य निर्माणमा लगाउने परिवारको प्राथमिकतामा रह्यो । गाउँको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेपछि काठमाडौंमा गएर पढ्ने मनस्थिति बनाइयो । एसएलसी पास गरेपछि काठमाडौं गएर पढ्ने कुरा गाउँमा फेसन नैबनेको थियो ।

ग्रामिण समाजमा आफ्नो सन्तानले एसएलसी पास गरेपछि बाबु आमाले नाक नफुलाउने कुरै भएन ।  आफ्नो समयमा स्कुल नभएर पढ्न नपाएका मेरा बाबुले छोराछोरीलाई सकेसम्म राम्रै शिक्षा दिक्षा दिन्छु भनेर अरुलाई भनेको सुन्थे ।एसएलसीको रिजल्ट आएपछि छोराले फलामे ढोका तोड्न सफल भएको खुसियालीमा बुबाले गाउँका हर्ताकर्ता मान्छेहरुलाई घरमा बोलाएर भाले पार्टी गर्नुभएको थियो । बियरर हुस्कीको चुस्की(स्वाद) लिंदै सबैले मेरो नाममा दशैनै मनाए भन्दा पनि फरक पर्दैन ।

रातो भाले बहिनीको पेवा भएपनि दाजुको सफलतामा त्यो भाले समर्पित गरी । बहिनीलेमेरा लागि ज्यान पनि दिन तयार हुन्छे । भाले पार्टीमा नै बुबाले सोध्नु भयो छोरा अब भन तेरो इच्छा के छ ? कहाँ गएर आइए उइए पढ्ने विचार छ । मलाई पनि के खोज्छस कानो आँखो भनेजस्तै भयो । मैले काठमाडौं गएर पढ्ने इच्छा व्यक्त गरे ।

पूर्वी पहाडी जिल्ला भोजपुरको सिस्नेरीबाट आफ्नो सुन्दर भविष्य निर्माणको सपना बोकेर राजधानीको खाल्डोमा छिरेको शिकारी उर्फ आलोकले प्रहरी हिरासत स्तब्ध हुँदै आफ्नो बाल्यकालका कथा आफ्नो व्यथा आफनै सब्दमा यसरी सुनाउँदा मन भक्कानिएर आयो।

जवानीले कुखुरे बैंस लागेको लक्का जवान केटालाई कसले कर्के नजर लगाउँदैन र । गाउँका तरुनी पट्याउन सिपालु भएकाले सवैले उसलाई शिकारी भनेर बोलाउन थालेछन् ।केटी भनेपछि मरिहत्ते गर्नेउसको पुरानो बानीले काठमाडौंमा पनि छाडेको रहेनछ । महिलाको पोटिलो शरीर देखेर कुनचाहिँ पुरुष आकर्षण हुँदैन,घुटूघुटू थुक निल्दैन ।पल्केको तिल्के घरीघरी मिल्के भनेझैँ काठमाडौंमा पनि उसको पुरानो ह्याबिटले सताउन सुरु गरि हाल्यो ।

प्लस टु पुस्ताको पगरी गुथेको शिकारीले भर्खर गाउँबाट शहर प्रवेश गरेका युवतीको शिकार गर्न सुरु गरेछ ।सिस्नेरी जस्तो गाउँमा त शिकार खेल्न खप्पिस मानिएको शिकारीले काठमाडौंमा झन् सजिलैसँग खजाना फेला पारेछ ।

चितवनबाट काठमाडौं छिरेकी मैयासँग उसको हिमचिम बढ्दै गएछ । शिकारी जस्तै एसएलसी पास गरेर प्लस टू पढ्न यो बिरानो शहरमा प्रवेश गरेकी रमिता नाम मात्र रमिता होइन मान्छे पनि हेर्दा साच्चिकै रमिता थिइन् रे । सँगसँगै पढ्ने लगभग उस्तै उमेरकी रमिताको मायामा रक्सीको निसा झैँ लठ्ठ पर्न थालिसकेको रहेछ ।

उमेरनै त हो बैंसमा नगरेको रमाइलो कहिले गर्ने भन्ने कुराले उसको दिमागमा चक्कर दिन सुरु गरेछ ।अहिलेको अवस्थामा एसएलसी भन्दा पनि अगाडिनै टिकट प्याक हुने अथवा रिजर्भ भैसक्ने जवान आइसकेको छ । शिकारीको भाग्य बलियो भएर हो कि किन हो रमिता भने प्याक हुन् भ्याएकी रहेनछ ।

कलेज आउने जाने सिलसिलामा उनीहरु एकअर्कासँग जिस्कने  ठट्टा मस्करी गर्ने क्रममा विस्तारै मायाको चक्कर अगाडि बढ्न सुरु गरेछ।वास्तवमा भन्नु पर्दा गहिरो प्रेममा फसेको रहेछ । माया जाल बुन्न खप्पिस शिकारीको पासोमा परेकी उसले अब भने पासोबाट उम्कनु भन्दा उसंगै बस्ने प्रस्ताव गरेर उसलाई पछि हट्न बाध्य तुल्याउन सफल भएकी रहेछ ।

कहीं नभएको जात्रा हाँडीगाउँमा भने जस्तै नेपालमा त्यसमा पनि खासगरी यो शहरमा लिभिङ टुगेदरको परम्परा व्यापक रुपमा अगाडि बढिरहेको छ । पछिल्लो समय शहरमा फेसनको रुपमा मौलाउँदै गएको लिभिङ टुगेदरको नयाँ अवधारणा प्रयोगमा ल्याउन सफल भएकोमा उसले आफूलाई त्यस बेला निकै गौरवशाली ठान्ने गर्थ्यो रे ।

नेपालको कानून लिभिङ टुगेदरको हकमा साइलेन्ट रहेकाले यसलाई कानूनी दृष्टिबाट अपराध मान्न सकिदैन । तर नेपाली प्रथा परम्परा सामाजिक मूल्य र मान्यताको आधारमा भन्नु पर्दा लिभिङ टुगेदर एक किसिमको अनैतिक र अमर्यादित कार्य भित्र पर्दछ । उनीहरु बीच लिभिङ टुगेदर भएतापनि उनीहरुले आफ्नो परिवारमा भने यो कुरा लामो समयसम्म लुकाएर राखेका रहेछन ।

एकजनाको परिवारका सदस्य कामको सिलसिलामा अथवा घुम्नका लागि  काठमाडौं आउँदा अर्को जना साथीको गएर बस्ने गरेकाले पनि परिवारले लिभिङ टुगेदरको पत्ता पाउनेकुरा आएन । समयको परिवर्तन उमेरमा आउने उतारचढावले गर्दा आवश्यकता ,चाहना र चासो बढ्दै जानु स्वाभाविकै हो । त्यसको प्रत्यक्ष मारमा शिकारी पर्न थाले छ ।अरुलाई रमिते बनाउन बानी परेकी उनले अब भने आफ्नो सक्कली रुपको पहिचान दिन तयारीमा रहेको उसले बुझेछ ।

पैसाका लागि सती जान पनि तयार हुने शहरमा उसले धनका लागि सबै किसिमका हत्कण्डा अपनाउन थालिछ । मागर पूर्तिमा सन्तुलन हुन् सकेन भने बजार व्यवस्थामा अस्तव्यस्त र गाईजात्रा देखापर्न थाल्छ भने झैं उनको माग र उसको पूर्तिमा सन्तुलन हुन् नसक्दा बिस्तारै लिभिङ टुगेदर धरापमा पर्न थालेछ । उसका महत्वकांक्षी मागहरु पुरा गर्न नसकेपछि दुईजना बिचको आधुनिक सम्बन्धमा परालको आगो जसरी मात्र सल्केको नभई भुसको आगो जसरी सल्किन थालेको रहेछ ।यसले नराम्रो नतिजा दिने कुरा निश्चित थियो ।

सहमतिमा अगाडि बढेको र विश्वासमा अडेको सम्बन्ध धरमरबन्ने अवस्थामा पुगेकोले उसलाई चिन्तित तुल्याएको भएता पनि कठोर मनका साथ निरन्तरता दिन पक्षमा उभिएको रहेछ । अर्काको मनको कुरा कसलाई थाहाँ हुन्छ  । त्यसैले त भनिन्छ अर्काको व्यथा मलाई के थाहाँ ,यही व्यथाले उसलाई दु:ख दिएर पोल्न र पेल्न थालेछ ।

 सामाजिक संस्कार अनुसारको विवाह बाहेक उनीहरुले सबै काम गरिसकेका थिए । तर त्यो सम्बन्ध उसका लागि वरदान होइन अहिले आएर अभिसाप बनेकोछ । उसको सन्तुष्टि पूरा गर्ने साधनका रुपमा म प्रयोग हुन्थे ।उसकै हठ र जोडबलमा थालिएको लिभिङ टुगेदर अहिले गलाको पासो बनेको छ । उसले अनावश्यक माग राख्न थालेपछि सम्बन्धमा दरार पैदा हुदै जान थाल्यो । सहमतिमा नै राखिएको सम्बन्ध राम्रो सम्बन्ध हुँदा लिभिङ टुगेदर थियो । तर सम्बन्ध बिग्रन थालेपछि अहिले आएर सहमतिमा नै हुने गरेको शारीरिक सम्पर्क बलात्कारमा परिणत भएको छ ।

प्रहरी हिरासतमा रातभरी उपियाँको टोकाइ र दिन भरि रुपयाँको घोचाईबाट थकान अवस्थामा रहेको शिकारीको यो वयानले काठमाडौंमा बलात्कारका घटनामा कसरी वृद्धि हुन्छ । यसको जवाफ दिएको छ । धेरै जस्तो लिभिङ टुगेदर बलात्कारमा परिणत भएका छन् । सेक्स पार्टनरको अभिलाषा पूरा गर्न नसक्दा बलात्कारको अभियोगमा प्रहरी खोरमा पुग्दा उसको नाटकीय सम्बन्धको गुह्य रहस्य थाहा पायो ।

यो शहरमा महिलाको कोख भाडामा पाउन थालिएको कुरा सुनाउंदै अब केही समय पछि श्रीमती पनि भाडामा पाउने उसले भविष्यवाणी गरेको छ । नेपालीको मौलिकता माटोमा मिलाउने कुकर्मको परिणाम स्वरूप धर्ती माताले यस्तो सजाय दिएको उसले मलिन अनुहार पारेर भन्यो ।

 लिभिङ टुगेदरले गर्दा प्रहरी खोरमा पुगेको उसले साह्रै नमज्जासँग फसियो भन्दै मुखबाट लामो स्वास निकाल्यो । बढो भावुकताको साथ उसले भन्यो लिभिङ टुगेदरमा खटपट हुँदा बलात्कारको अभियोग लागेको छ । साला अब बाँकी जिन्दगी मान्छे हुल्ने खोरमा बित्ने निश्चित छ । गाउँको बाख्रा गोठालो बाख्रा खोरमा हुलेको याद ताजै छ अब आफै खोरमा हुलिने दिन आए । आमाको अर्तीलाई आत्मसात नगर्दा बर्वाद भए । उसले गति छाडेर बढो लापरवाहीका साथ भन्यो । म सो कल्ड रेपिस्ट…….

प्रकाशित मिति: ९ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्