बालविवाहमुक्त वडामा घरैपिच्छे किशोरी आमा ! वडा कार्यालयले पनि सकेन रोक्न
मुगु, भदौ १
सरकारले दुई वर्षअघि बालविवाहमुक्त घोषणा गरेको साविकको खमाले गाविस खत्याड गाउँपालिका–५ मा अहिले पनि घरैपिच्छे किशोरी आमा छन् ।
बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ । नयाँ पत्रिकामा खबर छ ।
महिला अथवा पुरुष दुवै २० वर्ष पूरा नभई गरिएको विवाह कानुनी रूपले बालविवाह ठहरिने जिल्ला अदालत मुगुका प्रमुख जवाहरप्रसाद सिंहले बताए ।
कानुनी रूपले कोही कसैले २० वर्ष पूरा नभई विवाह गरेमा विवाह दर्ता नहुने, श्रीमानको नाममा महिलालाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन नमिल्ने ऐनमा उल्लेख भएको उनको भनाइ छ । तर, कानुनविपरीत यहाँ विवाह गर्नेको संख्या बढिरहेको छ ।
बालविवाह रोक्न वडाकार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको थियो । तर, वडा कार्यालयका यस्ता कार्यक्रम फलदायी बन्न सकेका छैनन् ।
३ वर्षयता खत्याड गाउँपालिका–५ का कवाँ, कोटिल्ला, भागोटी, खमाले, लमेरा, चागपान्डेलगायत गाउँमा सानैमा बिहे गर्ने २० वर्षमुनिका ६० भन्दा बढी किशोरी अवस्थामै आमा बनेका भेटिन्छन् ।
प्रकाशित मिति: १ भदौ २०७५, शुक्रबार











