स्नातक उत्तीर्ण हुनुहुन्छ ? बैँक जानुहोस् शैक्षिक ऋण पाउनुहुन्छ


 


काठमाडौँ, असोज १२

शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर रु सात लाखसम्म शैक्षिक कर्जा दिन पाउने छन् । मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो ।

पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइनेछ । तर केन्द्रीय बैंकको निर्देशनानुसार लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक उत्तीर्ण विद्यार्थीले आजदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्