अब नेपाली बुलेटले नै ग्याँस बाेक्ने



काठमाण्डाै । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच हिजाे भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिनुभयो ।

उहाँले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने बताउनुभयो । मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याइएको र नेपाललाई त्यसबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको बताउनुभयो । मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

सौहार्दपूर्ण वातावरणमा भएको उक्त बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो । नेपाल र भारतबीच २०७२ साल भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो । त्यसको दुई वर्षपछि नेपाल र भारतका प्रधानमन्त्री क्रमशः केपी शर्मा ओली र नरेन्द्र मोदीले शिलान्यास गर्नुभएको थियो ।

काम शुरु भएको ३० महीनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८ दशमलव ९ किलोमिटर लामो उक्त पाइपलाइन निर्माणको काम दू्रतगतिमा भइरहेको छ । परियोजना पूरा भएपछि नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले प्रतिघण्टा १९१ किलोलिटर इन्धन आयात गर्न सक्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News