सम्पादकिय – शुभ रहोस् दशैं


 


dash 01नेपालीहरु विशेष गरी हिन्दुहरुको महान् चाड दशैं सुरु भइसकेको छ । मीठो मसिनो खाने, राम्रो लाउने र रमाइलो गर्ने चाडका प्रारम्भ घटस्थापनादेखि भए पनि विशेष रूपमा फूलपातिदेखि मनाउने गरिएको छ ।

यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । यस चाडमा कामको खोजीमा, अध्ययनका लागि र अन्य विशेष कार्यक्रमका लागि विदेश गएका नेपाली पनि घर फर्किने गरेका छन्। र, कतिपय फर्किदै छन् ।

दशैं अाएसँगै सुनसान रहेका दुर्गम गाउँहरुमा पनि चहलपहल बढेको छ । विदेश गएका धेरैजसो युवाहरु नफर्किए पनि केही मात्रामा दशै मनाउन घर आएका छन् ।

यतिबेला देशमा संविधान जारी भएको छ । तर देश अशान्त छ । तराई लामो समयदेखी बन्द छ । भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको छ । जनता बन्द हडताल र नाकाबन्दीले पिल्सिएका छन् ।

अभाव चुलिएको छ ।  यस्तो अशान्त र अभावकैबिच पनि दशैंको रौनक छाउन थालेको छ । त्यसैले त दुःख पीडा र अभावकाबिच पनि हाँस्न सक्दछ नेपाली ।

13156546वर्ष दिनपछि आफन्तसँग भेटघाट गर्ने र आफूभन्दा ठूला मान्यजनबाट आर्शीवचन लिने यस चाडका लागि गरिब वर्गले पनि विभिन्न परिकार बनाएर खानका लागि सामग्री जोहो गरेका हुन्छन् । यो चाडमा सामूहिक रूपमा खाने र रमइलो गर्ने चलन छ ।

विगत बर्षहरुको दशैं भन्दा यो दशैंको विशेष महत्व छ, भिन्नै अर्थ राख्छ । किनभने २०६४/६५  यता मनाइएका हरेक जसो चाडपर्वमा जनाताबाट जारी हुने संविधान निर्धारित समयमै जारी होस् भनेर शुभकामना दिँदै अाएका थिए, सञ्चार माध्यमले । अब संविधान जारी भएको छ ।

अब दिगो रुपमा संविधानको कार्यान्वयन गर्दे देशलाई अग्रगतिमा अगाडी बढाउनु जरुरी छ । अाफ्नो संविधान अाफै‌ं लेख्ने सात दशक लामो सपना पुरा भएको छ । त्यसैले अब देशलाई शान्ति र समृद्धिको बाटोमा डोर्याउनु पर्छ ।

२०७२ सालको विजया दशमीले देशमा सुख, शान्ति र समृद्धि भित्र्याओस् । सबै नेपालीको सुस्वास्थ्य, समुन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति: २ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्