बार्यन म्युनिखसँग आर्सनलको लज्जास्पद हार


 


Bayern-Munichकाठमाडौं, कार्तिक १९

आर्सनलले च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहोरेको छ । हारसँगै आर्सनल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा बार्यन म्युनिखले आर्सनललाई ५–१ ले हराएकोे छ । घरेलु मैदानमा भएको खेलमा बार्यनले पहिलो हाफमै तीन गोल गरेको थियो भने दुई गोल दोस्रो हाफमा थप्यो ।

१० औं मिनेटमा रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा थोमस मुलरले गोल गरे भने ४४ औं मिनेटमा अल्बाले गोल गर्दै ३–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५ औं मिनेटमा आर्जेन रोबिनले गोल गरे । खेलको ६९ औं मिनेटमा आर्सनलका ओलिभर जिरउडले गोल गर्दै बार्यनको अग्रता ४–१ मा झारे ।

तर, ८९ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यन म्युनिखलाई ५–१ को शानदार जित दिलाएका छन् ।जितसँगै बार्यन ४ खेलबाट ९ अंकका साथ समूह एफको शीर्ष स्थानमा छ भने आर्सनलको ३ अंक छ र समूहको पुछारमा छ ।

डिनामो जोग्रेबलाई २–१ ले हराएको ओलम्पिकास ९ अंकसहित समूहको दोस्रो स्थानमा छ । जोग्रेब ३ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्