ताप्लेजुङमा एम्बुलेन्स प्रयोगविहीन हुँदा सेवाग्राही मारमा


 


ताप्लेजुङ, माघ २

ताप्लेजुङको जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् ।
एउटा एम्बुलेन्स वर्षौदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।

सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गर्ने गरिएको छ । चालक नियुक्तिका लागि प्रदेश सरकारबाट सहमतिपत्र नपाएपछि चार महीनादेखि उद्देश्य अनुरुप एम्बुलेन्स सञ्चालन गर्न सकिएको छैन ।

पुरानो एम्बुलेन्स मर्मत खर्च अभावले थन्किएको छ । “अस्पताल आफैँले करारमा चालक नियुक्ति गर्न मिल्दैन, प्रदेशबाट कर्मचारी नियुक्तिसम्बन्धी अनुमतिपत्र चाहिन्छ । निर्देशिका बनेपछि अनुमतिपत्र लिएका छौँ, अब चाँडै चालक नियुक्ति गरेर एम्बुलेन्स सञ्चालनमा ल्याउँछौँ”, अस्पतालका निमित्त प्रमुख डा सोनिङ लामाले भन्नुभयो । एम्बुलेन्स प्रयोगविहीन बनेपछि सेवाग्राहीले चर्को मूल्य तिरेर व्यावसायिक संस्थाका एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्