बैतडी पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा



बैतडी, २० असार । बैतडीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

जिल्ला खोप समन्वय समितिले शनिबार आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार जिल्लाभर जन्मदेखि १५ महिनासम्मका तीन हजार ९ सय ३१ जना तथा १६ महिनादेखि ५९ महिनासम्मका ११ हजार ७ सय ९४ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको पुष्टि भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

जन्मदेखि १५ महिनासम्मका बालबालिकामध्ये एक जना र १६ महिनादेखि ५९ महिनासम्मका १७ जना बालबालिकाले खोप नलगाएको पाइएपछि उनीहरूलाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताए।

स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बैतडीलाई २०७२ असार ६ गते नेपालकै सातौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको र त्यसयता प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै आइएको बताए।

उनका अनुसार जिल्लाका सबै ८४ वडा र १० वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएपछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। पूर्ण खोप सुनिश्चित घोषणाका सबै मापदण्ड पूरा भएकाले घोषणा गरिएको उनले बताए।

जिल्ला खोप समन्वय समितिले १० वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिकाको प्रमाणपत्र प्रदान गरेको छ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले पूर्ण खोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्न आवश्यक सहयोग गर्ने बताए।

पूर्ण खोप सुनिश्चितता अभियानमा योगदान पुर्‍याएका १० जना स्वास्थ्यकर्मीलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए। सम्मानित हुनेमा सन्तोष राय यादव, राधिका धनाडी, रतनाकुमारी भण्डारी, भागरथीकुमारी टेर, महेश्वरी पाण्डेय, निलेशकुमार यादव, गोमती चन्द, हिरादेवी भण्डारी र निर्मला नाथलगायत रहेका छन्।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्