डीपीएललाई आइसीसीले दियो मान्यता


 


काठमाडौं, माघ ९
धनगढीमा यही माघ २६ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले मान्यता दिएको छ।

क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको फाप्ला मैदानमा हुने प्रतियोगितालाई विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीले मान्यता दिएको एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो। एकेडेमीका अध्यक्ष सुवाश शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीले मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ।

देशकै पहिलो खेलाडी बोलकबोल (अक्सन) गराउँदै नेपाली क्रिकेटलाई व्यवसायिक बनाएको डीपिएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय खेलाडीहरु ल्याउनपनि आइसीसीको मान्यता आवश्यक पर्छ।

जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन्। ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्।

डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्। टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्।

शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ। रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा हुँदैछ।

प्रतियोगितालाई यस वर्ष पनि रुस्लानले प्रायोजन गरेको छ । गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललाई यसवर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको हो। विजय डिस्टिलरी र आयोजककाबीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो।

आगामी तीनवर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो। सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ। डीपीएल देशमै पहिलोपल्ट ६ वटा फ्रेन्चाइजी शहरहरुको नाममा टोली बनाउँदै अक्सन गराउने प्रतियोगिता पनि हो।

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्