डा. गोविन्द केसीको समर्थनमा विराटनगरमा पनि रिले अनसन



विराटनगर, माघ १५

डा गोविन्द केसीको समर्थनमा विराटनगरमा पनि चिकित्सकहरुले आजबाट रिले अनसन थालेका छन् ।  कोसी अञ्चल अस्पताल विराटनगरमा कार्यरत चिकित्सकहरुले विहान १० बजेबाट रिले अनसन थालेका हुन् ।

नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाको अगुवाईमा अस्पताल परिषरमै रिले अनसान थालिएको चिकित्सकले बताए । उनीहरुले अनसनरत डा। केसीको जीवन रक्षाको माग पनि गरेका छन् । केसीले उठाएका मुद्धाको सम्बोधन तत्काल नगरे अस्पतालका सबै सेवा ठप्प पारेर कडा आन्दोलन गर्ने गर्ने उनीहरुको चेतावनी छ ।

चिकित्सक संघ कोसी अञ्चल शाखा अध्यक्ष डा फरवार्ड सिलवालले केसीको आन्दोलनमा सरकार उदासिन बनेपछि विकल्पमा रिले अनसन रोजिएको बताए । उनले डा केसीले उठाएका मागको सम्बोधन र जीवन रक्षाको माग गर्दै दिएको ७२ घण्टे अल्टिमेटममा समेत सरकारले चासो नदिएको बताए ।

चिकित्सकलाई आन्दोलन गर्न बाध्य पारिएको परिस्थितिबाट उत्पन्न हुने समस्या र सर्वसाधारणमा पर्ने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार बन्ने सिलवालको भनाइ छ ।

रिले अनसनमा डा सिलवाल, कोसी अञ्चल अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा यज्ञराज खरेल, छाला तथा यौन रोग विशेषज्ञ डा असित घिमिरे लगायतका चिकित्सक बसेका छन् ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्