उर्लाबारीमा यसरी मनाइयो सोनाम ल्होछार (फोटो फिचरसहित)


 


उर्लाबारी, माघ २२

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी उर्लाबारीमा पनि मनाईएको छ ।

नेपाल तामाङ घेदुङ नगर समितिको आयोजनामा उर्लाबारी – ७ स्थित उर्लाबारी पार्टी प्यालेसमा नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता तथा घेदुङका नगर अध्यक्ष राजु लामाको अध्यक्षतामा शूभकामना आदानप्रदान गरी ल्होछार मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथी फागोले यस्ता जातीय चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने सोनाम ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी, अन्र्तराष्ट्रिय तामाङ परिषद्का निवर्तमान अध्यक्ष महेन्द्रजंग तामाङ, समाजसेवी एवम् राजनितिज्ञ मानबहादुर श्रेष्ठ, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, समाजिक अभियन्ता रुद्रबहादुर तामाङ लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा तामाङ युवायुवतीले जातिय भेषभुषामा नृत्य तथा गित प्रस्तुत गरेको घेदुङका नगर सचिव राजकुमार योञ्जनले जानकारी दिनुभयो । उर्लाबारी नगर कार्यपालिकाको बैठकले सोनाम ल्होछारको अवसरमा आज उर्लाबारीमा स्थानीय विदा समेत दिइएको थियो ।

प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्