जनताको आवश्यकताअनुसार कानुन निर्माण हुन्छ : सभामुख अर्याल
काठमाडौँ, २१असार। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुक र जनताको आवश्यकता सम्बोधन गर्ने गरी संसद्ले कानुन निर्माण गर्ने बताएका छन्।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख अर्यालले संसद् कानुन निर्माण गर्ने सर्वोच्च थलो भएकाले समयको आवश्यकता र जनअपेक्षाअनुसार कानुन निर्माणमा जोड दिइने बताएका छन्।
उहाँले चार दशकअघि चार जना विद्यार्थीबाट सुरु भएको कङ्काली माध्यमिक विद्यालयले पूर्वाधार विकास र शैक्षिक गुणस्तरमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा विद्यालयले अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट निर्वाचित सभामुख अर्यालले विद्यालयको थप उन्नयन र विकासका लागि शुभकामना पनि दिएका छन्।
कार्यक्रममा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले विद्यालयले ४३ वर्षको यात्रामा हासिल गरेका उपलब्धिबारे जानकारी दिँदै आगामी दिनमा गुणस्तरीय शिक्षा, शैक्षिक सुधार र विद्यार्थीको समग्र विकासका लागि थप मेहनतका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार












