सुदूरपश्चिमका १० ओलम्पियन खेलाडी नगदसहित सम्मानित



कैलाली, २१ असार सुदूरपश्चिम प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई प्रदेशको पहिचान स्थापित गर्न योगदान पुर्‍याएका १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरिएको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले शनिबार धनगढीमा आयोजित कार्यक्रममा खेल क्षेत्रमार्फत प्रदेशको गौरव बढाएको योगदानको कदर गर्दै प्रत्येक खेलाडीलाई जनही ७० हजार रुपैयाँ, दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरेको जनाएको छ।

सम्मानित हुने खेलाडीमा बक्सिङका विष्णुबहादुर सिंह र डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका भरतबहादुर साउद, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सरस्वती भट्टराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना तथा पारा तेक्वान्दोका भरतसिंह महता रहेका छन्।

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना र प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले नगद, दोसल्ला र प्रशंसापत्र प्रदान गरेका छन्।

कार्यक्रममा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत नेपाल र सुदूरपश्चिम प्रदेशको प्रतिष्ठा बढाउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास, खेलाडीको प्रोत्साहन र सम्मानलाई निरन्तरता दिइने विश्वास व्यक्त गरिएको थियो।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्