मन्त्रीज्यूको त साइकल पनि तेल खादो रैछ, कस्तो साइकल हो ?


 


यूएई । यूएईमा रहेका नेपालीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग नेपालमा भईरहका पछिल्ला घटनाक्रमको बारेमा छलफल गरेका छन् । शुक्रबार यूएई पुगेका मन्त्री पण्डितलाई त्यहा रहेका नेपाली नागरीकहरुले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’ त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको बताए ।

मन्त्री पण्डितले मन्त्री हुञ्जेल सरकारले दिएको सुविधाअनुसार गाडी प्रयोग गर्ने बताए । पदीय जिम्मेवारीबाट हटेपछि पहिलेजस्तै साइकल तथा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने समेत बताए ।

आफूविरुद्ध जस्ता विषय आए पनि देश प्रतिको दायित्व बहन गर्न आफू विचलित नहुने मन्त्री पण्डितको भनाई छ । मागेर मात्रै देश समृद्ध नहुने र भागेर समस्या समाधान नहुने भन्दै विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न उनले आग्रह गरे ।

मन्त्री पण्डितले कतिपय सञ्चार माध्यमले आफू र सरकारलाई खुइल्याउन समाचार लेख्ने गरेको आरोप समेत लगाए । उनले विषय नै नपाएका कतिपय सञ्चारमाध्यमले मन्त्रालयको पुरै खर्च जोडेर मन्त्रीले गरेको भन्दै सरकार र मन्त्रीलाई खुइल्याउन खोजेको आरोप लगाए ।

शनिबार नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी भएका मन्त्री पण्डितलाई त्यहाँ कार्यरत नेपाली नागरिकले विभिन्न विषयमा पश्न समेत गरेका थिए । दूतावासमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल, श्रम सहचारी मोतिराम भुसाललगायत कर्मचारीको उपस्थिति थियो ।

मन्त्री पण्डित दुबईमा आइतबारबाट शुरु भएको सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति युएई आएका हुन् । सम्मेलनमै सहभागी हुन लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली तथा सचिव महेन्द्र गुरागाईँ शनिबार राति यूएई पुगेका छन् ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्