भू–माफिया र नापी कार्यालयको मिलेमतोमा राजमार्गकाे जग्गा व्यक्तिको नाममा पास गरे पछि


 


रौतहट फागुन ३  पूर्व–पश्चिम महेन्द्र राजमार्ग स्थानीय भू–माफिया र नापी कार्यालयको मिलेमतोमा व्यक्तिको नाममा पास भएको छ । स्थानीयले राजमार्ग नै व्यक्तिको नाममा पास गराउने नापी कार्यालय चन्द्रनिगाहपुर र मालपोत कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीमाथि कारबाहीको माग गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको भन्दै स्थानीयले कर्मचारीमाथि कारबाहीको माग गरेका छन् । राजमार्ग नदेखाइकनै पास गराउँदा राजस्व रकमसमेत चुहावट हुने गरेकोले कर्मचारी स्थानीय भू–माफियासँग मिलेर त्यसो गरेको नेविसंघ रौतहटका नेता सुमन गौतमले बताए ।

राजमार्गसँग जोडिएको जमिनको राजस्व र राजमार्ग नभएको जमिनको राजस्व फरक रहेको छ । यसै कारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको एक जना जग्गा कारोबारीले बताए । प्रिमेश शिवाकोटीले सौर्य दैनिकमा यो खबर लेखेका छ्न

चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अधिकांश भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोपसमेत रहेको स्थानीले लगाए । पूर्व–पश्चिम लोकमार्ग २५ र सहायक मार्ग १५ मिटर छाडेर मात्र नापी कार्यालयले कित्ताकाट गर्नुपर्नेमा त्यसो नगरिकनै रजिस्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको हो ।

स्थानीयले नापी कार्यालयका कर्मचारीकै मिलेमतोमा यस्तो भएको बताउँदै आएका छन् । नापी कार्यालय चन्द्रनिगाहपुरमा पछिल्लो समय कित्ताकाटका लागि सेवाग्राहीले रकम दिनुपर्ने गुनासो बढ्दै जान थालेको छ ।

चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको जंगलछेउदेखि चादिपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका अधिकांश सडकको भाग घडेरीको रूपमा नापी कार्यालयले पास गर्न सिफारिस गर्ने गरेको खुलेको हो । कित्ताकाट नगरिकनै पठाउनु भनेको रजिस्ट्रेसन गर्न सिफारिस गरेकोे स्थानीय समाजसेवी बिनोद घिमिरेको भनाइ रहेको छ ।

भूमाफियाको मिलेमतोमा सडक विभागले तोकेको मापदण्डविपरीत व्यक्तिको नाममा पास गराउन सहयोग गर्नु आपत्तिको विषय रहेको स्थानीय युवा राजु तिवारीको भनाइ रहेको छ । सडकको क्षेत्रफलको कित्ताकाट गर्नु भनेर कुनै किसिमको पत्र नआएकोले ससिम कित्ता पास गर्ने गरेको नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सञ्जयकुमार साहले बताए ।

सडकको जमिनसमेत पास गरेको विषयमा नापी र मालपोत कार्यालयले एक अर्कालाई दोषी देखाउने गरेका छन् । व्यक्तिको नाममा राजमार्ग नै पास हुन थालेपछि डिभिजन सडक कार्यालय रौतहटले पूर्वको बाँके जंगल र पश्चिममा धन्सारसम्मको राजमार्गको लालपुर्जा मगाएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले बताए ।

नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख भएर आएका सञ्जयकुमार साहले मोटो रकम लिने गरेको र भू–माफियाको मात्र काम गर्ने गरेको र सेवाग्राहीलाई दुःख मात्र दिने गरेको गुनासो बढेको छ ।

नापी कार्यालयले १ धुर २ कनुवासम्म जमिनको कित्ताकाट गर्ने गरेको छ, जुन कानुनतः गर्न नमिल्ने काम हो । नापीप्रमुख साह र भू–माफियाको चलखेलका कारण चन्द्रनिगाहपुरमा रहेको देव आयल स्टोर्सले २४ धुर जमिन खरिद गरे पनि सडकको १४ धुरसमेत पास गरेपछि यस्तो रहस्य खुलेको हो । उक्त जमिन वीरगञ्जका रवि कुमारले बिक्री गरेका हुन् । उनले आफ्नो नामको जमिन राजमार्गसहित पास गर्न सहयोग गरेका छन् । देव आयल स्टोर्सले समेत सरकारी मापदण्ड मिचेर पेट्रोलपम्प सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्