‘सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता’को नारामा परराष्ट्र सम्बन्ध सुमधुर


 


काठमाडौं, फागुन ३

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज एक बर्ष पूरा भएको छ । गत बर्षको फागुन ३ गते प्रधानमन्त्रीनियुक्तहुनुभई कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस एक बर्षको अवधीमा समृद्धि र बिकाशको आधार तयार पारेको छ ।

संघीयता कार्यान्वयन रबिकाशको आधार तयार पारेको ओली सरकारलेयस अवधीमा छिमेकीसहित परराष्ट्र सम्बन्धमा पनि निकै फडको मार्न सफल भएको छ । सधै एकातिर ढल्कने परराष्ट्र नीतिबीच पहिलो पटक समान सम्बन्धको नीति लिएर परराष्ट्र सम्बन्ध मजबुत बनाइएको हो । परराष्ट्र् सम्बन्धबारे प्रधानमन्त्री ओलीे यसरी राख्नुभएको छ बुँदागत धारणा ।

-यो एक वर्षमा हाम्रो छिमेक नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको कुरा धेरथोर आमसञ्चार माध्यमहरुले पनि चर्चा गरेकै छन् । ‘सबैसँग मित्रता, कसैसँग पनि छैन शत्रुता’को नारामा नेपालले आफ्नो परराष्ट्र सम्बन्ध सुमधुर बनाएको छ । विश्वमा देखिने गरी आफ्ना भनाई अघि सार्दै सन्तुलित परराष्ट्र नीति अघि बढाएको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालप्रतिको विश्वास र आकर्षण बढेको छ ।

– यस वर्ष सम्माननीय राष्ट्रपतिज्यूको कतार र पोल्याण्डको भ्रमण भयो । त्यहाँ पनि लगानीकै कुरा भयो । सम्माननीय उपराष्ट्रपतिज्यू सत्रौं पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुभयो ।

– मेरो भारत भ्रमण र भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ। दुईमुलुक बीचका केही थाती रहेकासमस्याहरू समाधान हुँदै गएका छन्। सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनले गति लिएको छ। दुई देशबीच कृषि, रेलमार्ग र अन्तरदेशीय जलमार्गका क्षेत्रमा सहयोग अघि वढाउने सहमति हुनुका साथै थप सहयोगका क्षेत्र विस्तार भएका छन्।

– मेरो चीन भ्रमणको अवसरमा चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भएका महत्वपूर्ण भेटघाट एवम् वार्ताबाट रेल्वे, कनेक्टिभिटी र ऊर्जा क्षेत्रसँग सम्बन्धित आयोजनाहरूमा सहयोग आदान प्रदान गर्नेविभिन्न १४ समझदारी तथा सम्झौता भएका छन्।

– यस वर्ष मैले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गरेँ । विश्व शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकार र दीगो विकासलगायतका विषयमा नेपालको धारणा राखेँ। हामी आफैँले नेतृत्व गरेको मौलिक प्रकृतिको शान्ति प्रक्रिया आधारभूत रुपमा टुङ्गिएको मैले स्मरण गराएँ । नेपालको यो अनुभव, द्वन्द्वमा फसेका मुलुकहरूका लागि अनुकरणीय सन्दर्भ हुनसक्ने विश्व जनमत रहेको मैले पाएँ । द्वन्द्व व्यवस्थापन, शान्ति प्रक्रिया, विशिष्ट प्रकृतिको निर्वाचन प्रणाली र अन्त्य भएको राजनीतिक संक्रमणकाल जस्ता प्रगति दुनियाँलाई आश्चर्य नै पार्ने प्रकृतिको मैले पाएँ ।

– यसै विषयलाई लिएर उटपट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न-लेख्न जान्ने, आफूलाई ‘ओपिनियन मेकर’ भन्न रुचाउनेहरु बाट । अघि बढिरहेको आफ्नो मुलुक ओरालो लागेको र स्वाधीन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने यस्तो प्रवृत्ति देख्दा दुःख लाग्छ ।

– कोष्टारिकाको औपचारिक भ्रमणबाट त्यस मुलुकसँगको सम्बन्धमा नयाँ आयाम थपिएको छ । सान होसेमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौतामा नेपाल पक्ष राष्ट्र बन्यो । यस भ्रमणका अवसरमा मैले संयुक्त राष्ट्रसंघको युनिभर्सिटी फर पिसमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेँ । नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएँ। विश्वविद्यालयले नेपालको प्रधानमन्त्रीलाई सम्मान गर्यो।

– यसै वर्ष श्रीलंका र म्यानमारका राष्ट्रपति, बंगलादेश, पाकिस्तान, कम्बोडिया र थाइल्याण्डका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभयो । द्विपक्षीय सम्बन्ध विस्तार गर्ने क्रममा परराष्ट्रमन्त्रीस्तरमा भारत, चीन, पोर्चुगल, वेल्जियम, लक्जेम्वर्ग, अष्ट्रिया, जापान र संयुक्त राज्य अमेरिकाको भ्रमण भएको छ ।

– काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलन सम्पन्न भयो ।

– म यहाँ भ्रमणहरुका विवरण उल्लेख गरी समय खर्चन चाहन्न । यत्ति चाहिँस्पष्ट पार्न चाहन्छु– यी भ्रमणहरु मार्फत नेपालले आफ्ना विषयहरुमा दुनियाँलाई प्रष्टाउने मौका पाएको छ ।

– नेपाल मानवअधिकार परिषद्को एसिया तथा प्रशान्त क्षेत्रको संयोजकमा छनौट भएको छ। संयुक्त राष्ट्र संघीय विभिन्न संस्थाहरुमा सदस्यका लागि हुने निर्वाचन-पुनःनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको छ ।

– सेन्ट किट्स एण्ड नेभिस, रुवान्डा, माडागास्कार र सुरीनामसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्