ओली सरकारले राम्रा काम थाल्दा केहीलाई छट्पटी चलेको छ – मन्त्री अर्याल


 


स्याङ्जा फागुन ५
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले काम शुरु गर्दा विपक्षीलाई छट्पटी बताएको बताएकी छिन् । स्याङ्जा जिल्लामा शनिबार आयोजीत कार्यक्रममा मन्त्री अर्यालले सरकारले विकास र समृद्धिका काम गर्दा केही पक्ष अत्तालिएको बताइन् ।

वालिङ नगरपालिका १२ स्थित सिर्सेकोट महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले अहिले केही नेताहरूले सरकारलाई कोस्नेगरी दिइएको अभिव्यक्ति त्यसैको उपज भएको बताइन् । मन्त्री अर्यालले संघ, प्रदेश र स्थानीय सरकारबीचमा विभिन्न कुरा गरेर फाटो ल्याउने कोशिश समेत भइरहेको उनको भनाई छ ।

‘प्रदेशलाई केन्द्रले अधिकार दिएन भनेर फाटो ल्याउन खोज्ने, स्थानीयले काम गर्न सकेनन् भनेर ह्यारेस गर्ने काम भइरहेको छ’, मन्त्री अर्यालले भनिन्, ‘सरकारले अहिले काम शुरु गरेको छ, सरकारले काम शुरु गर्दा केहीलाई छट्पटी भइरहेको छ । अहिलेका केही नेताका अभिव्यक्ति त्यहीँ हो ।’ संघीयता असफल बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय सरकारबीचमा फाटो ल्याउने कोशिश भइरहेको मन्त्री अर्यालको भनाइ थियो ।

कम्युनिस्ट नेतृत्वको सरकार आएपछि त्यसलाई केही शक्तिले पचाउन नसकेको उनको आरोप छ । ‘कम्युनिस्ट सरकार आयो अब त केके हुन्छ भनेर केहीलाई छट्पटी छ । त्यसैले सरकारविरुद्ध जे मन पर्यो तथ्यांक यहीँ बोलेर हिडिरहेका छन्’ उनले भनिन् । मन्त्री अर्यालले कांग्रेसप्रति लक्षित गर्दै अब धेरै हारका पीडा नपोखेर रचनात्मक सहयोग गर्न समेत आग्रह गरिन् । उनले भनिन्, ‘अब धेरै हारका पीडा पोख्ने होइन प्रतिपक्षीले पनि सरकारले थालेको विकास र समृद्धिको कार्यमा रचनात्मक सहयोग गरेर जानुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको कुरा गर्दा ठूला कुरा गर्ने भनेर खिसिट्युरी गरिएको भन्दै मन्त्री अर्यालले सरकारले ठूलादेखी साना सबै काम गर्दै जाने बताइन् । सरकारले रोजगारमुखी कार्यक्रम सञ्चालन गरेको भन्दै मन्त्री अर्यालले अब अन्तर्राष्ट्रिय बजारसँग ब्यापार गर्न पानीजहाज पनि सञ्चालन गरेरै छाड्ने बताइन् ।

सरकारले सञ्चालन गरेको विकास र समृद्धिका निम्ति सहकारीलाई माध्यम बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले गाउँबाट उत्पादन संकलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको उनको भनाई छ । त्यसका निम्ति योजना बनाएर लाग्न मन्त्री अर्यालले आग्रह गरिन । ‘गाउँ गाउँमा उत्पादन गरेर तपाईं उद्यमशीलतामा लाग्नुस । तपाईहरुले गरेको उत्पादन संकलन गरेर बजारीकरण गर्ने अभियानमा सरकार लागेको छ’ मन्त्री अर्यालले भनिन् ‘सबै गाउँलाई प्रभाव पार्नेगरी प्रमुख आधारमा केन्द्रित हुनुस् । ५ वर्षमा के गर्ने, १० वर्षमा के गर्ने भनेर योजना बनाएर लाग्नुस ।’

उनले राष्ट्र र जनताको आवश्यकता यो सरकारले बुझेको भन्दै मन्त्री अर्यालले कसैको हल्लाको पछि नलाग्न समेत आग्रह गरिन् । ‘राष्ट्र र जनताको आवश्यकता यो सरकारले हेक्का राखेको छ । यो सरकारले साना देखि राष्ट्रिय दिर्घकालिन महत्त्वका ठूला मेगा प्रोजेक्ट सञ्चालन गर्नुुपर्ने आवश्यकता छ । सरकार अब कुनैपनि बहानामा पछाडि हट्दैन’ उनले भनिन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्