गंगामायाले गोरखा फुजेलकी गंगामाया अधिकारीले बनाइन् राहदानी, न्याय खोज्न अन्तर्राष्ट्रिय जाने


 


काठमाडौँ फागुन ५
न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न भन्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले राहदानी बनाएकी छन् । न्याय नपाएको भन्दै गत पुस २५ गते पुलचोकस्थित राष्ट्र संघ भवन पुगेकी गामायाले आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट राहदानी बनाएकी हुन् ।

गंगामायाको राहदानी बनाउनका लागि उनको पक्षमा लबिङ गर्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी तथा नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल बबरमहलस्थित जिल्ला प्रशासनमा पुगेका थिए ।

राहदानी बनाएपछि गंगामायाले अब न्याय खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने बताइन् । तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धका क्रममा आफ्ना छोराको हत्यारामाथि कारबाही नभएको भन्दै गंगामाया आन्दोलित छन् ।

छोरा कृष्णप्रसादको न्यायका लागि लामो समय अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको यसअघि नै अनशनका क्रममा ज्यान गइसकेको छ । अधिकारीको शव अझै पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ।

सरकारको एक करोड

छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गंगामायालाई यसअघि नै सरकारले राहतस्वरूप एक करोड रुपैयाँ दिएको छ ।

अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले गत साउन पहिलो साता उनको नाममा खाता खोली एक करोड रुपैयाँ जम्मा गरिदिएको थियो ।

कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको थियो । सरकारबाट राहत बुझेपछि उनी गत मंसिरमा राष्ट्रसंघ पुगेकी थिइन् ।

अनि राष्ट्रसंघ

त्यसबेला उनी ‘न्याय खोज्न म कहाँ जाऊ ?’ लेखिएको प्लेकार्ड छातिमा झुन्ड्याएर राष्ट्र संघ भवन पुगेकी थिइन्। आज राहदानी बनाउन प्रशासन पुगेकैहरुको साथ लागेर गंगामाया राष्ट्र संघ भवन पुगेकी थिइन्।

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्