सरकारलाई चिकित्सक संघको ७२ घण्टे खतरा अल्टिमेटम


 


काठमाडौं चैत २८
नेपाल चिकित्सक संघले वार्ता र संवादको माध्यमबाट ७२ घन्टाभित्र समस्याको समाधान निकाल्न सरकारसँग माग गरेको छ।

सरकारी चिकित्सकहरु समायोजनप्रति असहमति जनाउँदै आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि संघले आज बृहद बैठक बोलाएको थियो।

उक्त बैठकमा काठमाडौं उपत्यका भित्रका सरकारी, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनिधि र चिकित्सा पेसासँग सम्बन्धित प्रतिनिधि उपस्थित थिए।

नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीले बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा सरकारलाई अबको ७२ घन्टाभित्र उत्पन्न समस्या वार्ताका माध्यमबाट समाधान गर्न माग गरेको उल्लेख छ।

संघले उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नु पर्नेमा सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेसालाई नै मानमर्दन गर्नेगरी अस्वाभाविक अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ।

‘शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने र चिकित्सकहरुलाई चिढ्याउने सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ,’ संघको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्