अब सडक अनुशासनमा कडाइ : सूर्तिजन्य पदार्थ सेवन गरी गाडी चलाए कारवाही हुने


 


काठमाडौँ । मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने चालक अब कारवाहीमा पर्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने चालकमाथि पहिलो पटक हजार रुपैयाँ जरिवाना गरिने व्यावस्था गरिएको छ ।

अनुगमनका क्रममा दोस्रो पटक पनि सोही कसुर गरेको भेटिए सेवाबाटै हटाउन सम्बन्धित कम्पनी वा संस्थालाई सिफारिश गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

त्यसैगरी जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि समेत कारवाहीको व्यवस्था ऐनमा गरिएको छ । यो कसुरमा चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।

यस्तै निर्धारित बाहेकका स्थानमा सवारी साधन रोक्ने, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने र निर्धारित पोशाक नलगाई सवारी साधन चलाउने चालकमाथि पनि सोही जरिवाना हुनेछ ।

बस स्टपमा निर्धारित समय भन्दा बढी समय सवारी साधन रोक्ने, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउने चालकमाथि पनि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यो ऐन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको हकमा लागू गर्न लागेको हो । प्रमाणीकरण भई एक महिनाभित्र ऐन कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्