ओली र प्रचण्डसहितको आवासीय बैठकमा माधव नेपाललाई किन खबरै गरिएन ?


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबार बेलुकादेखि चन्द्रागिरी पुगेका छन् । चन्द्रागिरीमा रहेको रिसोर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरु बिहीबार बेलुका त्यहाँ पुगेका थिए ।

पार्टी एकता, सरकार सञ्चालनलगायतका विषयमा कुराकानीका लागि उनीहरु त्यहाँ पुगेको स्रोतले जानकारी दियो । नेता पौडेल बिहीबार दिउँसो नै त्यहाँ पुगेका थिए भने दाहाल ४ बजे पुगेका थिए । गृहमन्त्री थापा साढे ४ बजे र प्रधानमन्त्री ओली सवा ५ बजे चन्द्रागिरी पुगेका थिए ।

उनीहरुबीच बेलुकादेखि नै आवासीय बैठक भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रचण्ड अघिल्लो साता पनि परिवारसहित पुगेका थिए । “मन्त्री फेरबदल गर्ने कुरा पनि पहिलेदेखि नै चलेको थियो,” स्रोतले भन्यो,“पार्टी एकताको टुंगो नलाग्दा पार्टीभित्रै विवाद बढेको छ ।”

नेकपा एकता तल्लोतहसम्म पुग्न सकेको छैन । प्रदेश कमिटीभन्दा तल एकता हुन सकेको छैन । २२ वटा जनसंगठनमध्ये वकिल र इन्जिनियरको संगठनबाहेकका कुनै पनि संगठनको एकता टुंगो लागेको छैन । जिल्लाको नेतृत्वमा माधवकुमार नेपालले समानान्तर सूची तयार पारेका छन् । त्यसैगरी महानगर र जनसंगठनमा पनि उनले समानान्तर सूची तयार पारेका छन् ।

नयाँ वर्षको पहिलो दिन नै तल्लो तहसम्म सबै एकता टुंगो लगाएर सर्कुलर जारी गर्ने तयारी भएको स्रोतले जानकारी दियो । एकता प्रक्रियामा सबैभन्दा बढी असन्तुष्ट देखिएका माधवकुमार नेपाल पक्षलाई भने आवासीय बैठकका बारेमा कुनै जानकारी गराइएको थिएन ।
यसअघि प्रधानमन्त्री ओलीले नेकपामा असन्तुष्ट देखिएका वामदेव गौतमलगायतका नेतालाई छुट्टाछुट्टै बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

नेपाललाई पनि यसैसाता भेटेर छलफल गर्ने तयारी गरिएको भए पनि नेपाल भने बुधबार बिरामी परेर अस्पताल भर्ना भएका थिए । “त्यसैदिन बेलुका भेट्ने कुरा थियो तर उहाँ बिरामी भएपछि भेट हुन सकेन, आवासीय बैठकका बारेमा पनि कुनै जानकारी गराइएन,” नेपाल निकट एक नेताले भने ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्