बैशाख २ गते रतुवामाईमा सार्वजनिक विदा


 


रतुवामाई । सिरुवा पर्वको अवसरमा रतुवामाई नगरपालिकाले २०७६ साल वैशाख २ गते सोमबारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

रतुवामाई नगरपलिकामा तराईमा बस्ने आदिवासी समुदायको वाहुल्यता रहेकोले सिरुवा पर्वलाई बिशेष रुपमा मनाइने भएको हुदा सार्वजनिक बिदा दिएको नगर प्रमुख रविन राईले बताउनु भयो ।

नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्थाहरु, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक विदाको निर्णय गरेको हो ।
तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व वैशाख १ गतेदेखि सुरु भई यो पर्व तीन दिनसम्म चल्छ ।
पहिलो दिन एकआपसमा पानी छ्यापाछ्याप गर्दै पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन माटोको हिलो बनाएर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ ।

यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । पर्वको अवसरमा यी जिल्लाहरुमा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्