प्रधानमन्त्री ओलीको निर्देशनमा खुलामञ्चमा चल्यो डोजर !


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा शनिबार डोजर चलाईएको छ । जस्ताले बारेर बसाइएका सटरमा डोजर लगाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य दलबलसहित पुगेका थिए ।

उनी सबै टहरा भत्काइसकेपछि मात्र फर्किए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सुरुमा केहीबेर देखिएपनि अन्तै कार्यक्रम छ भन्दै हिँडेका थिए ।

उपमेयर हरिप्रभा खड्की टहरा भइत्काइसक्दा पुगेकी थिइन् । मेयर शाक्यले शुक्रबार मात्र खड्कीलाई खुलामञ्चबारे अनुगमन गरेर रिपोर्ट पेश गर्न पत्र दिएका थिए ।

खड्कीका अनुसार उनले आइतबार यसबारे छलफल राखेकी थिइन् । तर, त्यसको अघिल्लो दिन शनिवार नै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा डोजर चलाइएको छ ।

मेयर शाक्य अन्तै कार्यक्रम छ भनेर जानुले पनि डोजर चलाउने उनको निर्देशन होइन भन्ने प्रष्ट भएको छ । काठमाडौंका प्रजिअ आचार्यले पनि माथिको आदेशमा महानगरसँग मिलेर डोजर चलाएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्