गाउँपालिका अध्यक्ष हुनु त यस्तो ! सबै तलब विपन्नलाई


 


दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका सात जना व्यक्तिलाई रु एक लाख ८० हजार हस्तान्तरण गरेको बताए ।

द्वन्द्वपीडित परिवारका जेहेन्दार बालबालिका बालकुमारी खड्का र लक्ष्मी शाहीका छोरालाई पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले रु ५०र५० हजारका दरले एक लाख रकम, शारीरिक तथा मानसिकरुपमा अशक्त र अपाङ्गता भएका गाउँपालिका वडा नं ३ का कालु खड्कालाई औषधि उपचार खर्चबापत रु १० हजार, दलित तथा जनजाति लोपोन्मुख तथा गरीब परिवार जेहेन्दार बालबालिकामध्ये गाउँपालिका वडा नं ७ का कक्षा १० मा अध्ययनरत मङ्गल विकलाई रु १० हजार, मिर्गौला रोगका लागि उपचारका क्रममा मृत्यु भएका गाउँपालिका वडा नं १ का हस्तराज अधिकारीका छोराछोरीको पठनपाठनका लागि रु २० हजार जिब्रोको क्यान्सर भएका गाउँपालिका वडा नं ७ का पार्वती खत्रीका श्रीमान्को उपचारका लागि रु २० हजार र स्थानीय शिव मन्दिरमा खानेपानी धारा जडान गर्नका लागि रु १० हजार रकम कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष थापाले हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्