अब प्रधानाध्यापक बन्न सय पूर्णांकको परीक्षामा उत्कृष्ट हुनुपर्ने


 


सोलुखुम्बु : शैक्षिक सुधारको लागि थुलुङदुधकोशी गाउँपालिकाले शिक्षक सरुवादेखि प्रधानाध्याक नियुक्तिको लागि परीक्षा लिनेसम्मको कार्य गर्ने भएको छ। अब गाउँपालिकाभित्रका विद्यालयमा प्रधानाध्याक बन्नको लागि शिक्षकले अनिवार्य परीक्षामा सहभागी बनी उत्कृष्ट अंक ल्याउनुपर्ने भएको छ।

कार्यपालिका सदस्यसमेत रहेका सामाजिक विकास समिति सुझाब कार्यदलका संयोजक बुद्धिराज राईका अनुसार शैक्षिक सुधारका लागि शिक्षक सरुवा, विद्यालय गाभ्ने र प्रधानाध्यापक नियुक्ति गर्दा अनिवार्य परीक्षा लिइनेछ। गाउँशिक्षा समितिका अनुसार प्रधानाध्याक बन्नका लागि १०० पूर्णांकको परीक्षा लिइनेछ। जसमा स्थायी शिक्षकले ५० अंकको लिखित, २५ अंकको अन्तर्वार्ता र २५ अंकको विद्यालय सुधारका लागि तयार पारिएको प्रस्तावना बुझाउनुपर्छ।

उक्त परीक्षाका लागि पाठ्यक्रम निर्माणका विषयमा शिक्षाविद्सँग अहिले गाउँपालिका प्रमुख असिम राईले काठमाडौंमा छलफल गरिरहेको बताइएको छ। ‘अस्थायी, राहत, करार दरबन्दीका शिक्षक प्रधानाध्यापक बन्दा शैक्षिक गुणस्तरमा वृद्धि नभएको निष्‍कर्षसहित शिक्षा समितिले निर्णय गरेको छ।’ प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले भने, ‘अब कार्यपालिकाले अनुमोदन गरेपछि कार्यान्वयन हुन्छ।’ थुलुङदुधकोशीले २०७६ लाई ‘शैक्षिक सुधारको वर्ष’ घोषणा गरेर काम गरिरहेको छ।

प्रधानाध्यापकलाई जिम्मेवार बनाउनका लागि पनि प्रतिस्पर्धा गराउनुपरेको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ। विकासको मेरुदण्डनै शिक्षा भएकाले यस क्षेत्रको लागि कुनै पनि हालतमा सम्झौता नगर्ने अध्यक्ष राईको दाबी छ। ‘हाम्रो होइन राम्रो शिक्षकलाई प्रधानाध्याक बनाउँछौं।’ अध्यक्ष राईले भने, ‘हाम्रो भन्ने परिपाटीको अन्त्य भएन भने शिक्षामा राज्यले गरेको लगानी बालुवामा पानी हालेजस्तै भइरहेको छ, र हुन्छ पनि, यसमा हाम्रो टिम कटिबद्ध भएर लाग्छ।’

सामान्य सेवासुविधा दिएर सञ्चालन गरिएको निजी विद्यालयमा अभिभावकको ध्यानकेन्द्रित भएको प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको अध्यक्ष राईको भनाइ छ। शैक्षिक क्षेत्रमा राज्यको ठूलो लगानी भएकाले सोही अनुसारको नतिजा प्राप्त गर्ने गरि गाउँपालिकाले काम गर्ने बताइएको छ।

केही दिनभित्र गाउँपालिकाभित्र कार्यरत शिक्षकको सरुवा गर्ने, जेठ पहिलो हप्तामा प्रधानाध्यापकको परीक्षा लिने र केही विद्यालयलाई गाभ्नेसम्मको निर्णयमा शिक्षा समिति पुगेको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईको भनाइ छ। राष्ट्रिय मापदण्डअनुसारै विद्यालय गाभिने र सोहीअनुसार शिक्षकको व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्