नेकपा र कांग्रेसलाई महासंघको ध्यानाकर्षण पत्र
काठमाडौँ : नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका पदाधिकारीले आज बिहान (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउनुपर्ने र नेपाली सञ्चार माध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता र सुविधा दिनुपर्नेमा जोड दिएको छ ।
सोही अवसरमा अध्यक्ष दाहालले संविधानसभा, गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी, शान्ति र सुशासनलागयतका मुद्दामा पत्रकार महासंघ र आम प्रेस जगत्ले खेलेको भूमिकाको प्रशंसा गरे । अध्यक्ष दाहालले प्रेससम्बन्धी संविधानमा उल्लेख भएका विषय पत्रकार र प्रेस अनुकूल नै भएको बताउँदै महासंघले उठाएका सवाललाई पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघले राखेको ध्यानाकर्षण पत्रले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को धारणालाई सहयोग पुग्ने उनको भनाइ थियो ।
यसैगरी सभापति देउवाले प्रेस स्वतन्त्रताका लागि नेपाली कांग्रेस विगत लामो समयदेखि लड्दै आएको स्मरण गर्दै आगामी दिनमा समेत महासंघसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार










