प्रधानमन्त्री ओलीले खान्न भन्दाभन्दै सबै खान थालेको काँग्रेस नेताको आरोप
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले छताछुल्ल भैरहेको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘त्यही भएर जनताले अहिले कांग्रेसीहरु तिमीहरु कहाँ छौं भनेर आक्रोश पोखिरहेका छन् ।’ मुलुकनै सञ्चालन गरेको त्योपनि अर्थमन्त्रीको जिम्मेवारी बहन गरिसकेको व्यक्ति विष्णु पौडेलले सबै सेटिङ मिलाएबापत बालुवाटार प्रकरणमा ८ आना जग्गा बकस पाएको विश्वकर्माको आरोप छ । उनले भने,‘मैले सुनेको चाहीँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो । अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे ।’
ललिता निवासलाई मोही कायम गर्न लाखौं÷करोडौं खर्चिएका भूमाफीयाहरुले विष्णु पौडेलको कारण आफूहरु फसेको गुनासो गरेको पनि उनले स्पष्ट पारे । विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘दुर्वशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानुभयो ।’ नैतिकताको आधारमा पनि विष्णु पौडेलले यो प्रकरणमा राजीनामा दिनुपर्ने उनको भनाई छ ।
प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार










