ओली सरकारलाई शाही युवा शक्तिको २४ घण्टे अल्टिमेटम


 


काठमाडौं । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अविलम्ब रिहाई नगरे सरकारविरुद्व कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले यस्तो चेतावनी दिएको हो । काठमाडौंको गोगंवु–बानियाँटारबाट आज बिहान पक्राउ परेका केन्द्रीय सदस्य बिनोद केसी, राम प्रसाद सुवेदी, मिन बहादुर क्षेत्री र दिपेश खड्कालाई अपहरण शैलीमा घरैबाट पक्राउ गरेको भन्दै घोर आपत्ति जनाएको छ ।

कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राज्यबाट नागरिकको आम स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको आरोप लगाए । देशका विभिन्न अपराध र विसंगतिहरु व्याप्त रहेको भन्दै उनले नागरिकका अधिकारहरु राज्यले दबाउन नहुने सुनाए ।

आफ्ना कार्यकर्तालाई घरभित्रै छिरेर अपहरण शैलीमा पक्राउ गरिएको भन्दै उनले सरकारलाई निःशर्त रुपमा छोड्न २४ घण्टे अल्टिमेटम पनि दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशवादी सोच र व्यवहार बढाएको भन्दै उनले देशमा व्याप्त विसंगति र विकृतिका बारेमा आवाज उठाउँदा आफूहरुमाथि दमन गर्न खोजेकोे उनको आक्रोश छ ।

शाही युवा शक्ति नेपालले स्थापना कालदेखि नै नेपालमा गणतन्त्र र संघीयता खारेज हुनुपर्ने माग राख्दै आएको बताउँदै उनले नेपाल अखण्ड हिन्दु राज्य हुनुपर्नेमा जोड दिए ।

अहिले दलीय निरंकुशता बढ्दै गएको बताउँदै खड्काले संसारकै स्वतन्त्र देशका नागरिकलाई अधिकारबाट विमुख बनाउने खेल भईरहेको पनि आरोप लगाए ।

अहिले गणतन्त्रको नाममा नेपालमा लुटतन्त्र कायम रहेको बताउँदै उनले जनतामा रहेको भ्रम चिर्नु आफूहरुको कर्तव्य भएको पनि स्पष्ट पारे ।

हिजो प्रधानमन्त्रीको पुत्ला जलाउँदा प्रधानमन्त्रीलाई नै जलाएको जस्तै गरेर घरबाटै आफ्ना साथीहरु पक्राउ गर्ने सरकारको मानसिकता कमजोर बन्दै गएको उनको भनाई छ ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्