बुवालाई चितामा राख्ने वित्तिकै अंशको नाममा दाजुभाइबीच कुटाकुट


 


झापा । अंशको नाममा बुवालाई चितामा राख्ने वित्तिकै दाजुभाइबीच कुटाकुट भएको छ । मानिस सबैभन्दा शोकमा रहने अवस्था नै मृत्यु हो । तर, यहाका एक परिवारका दाजुभाइ भने बुबालाई दागबत्ती दिने वित्तिकै कुटाकुटमा उत्रिएका छन् ।

कमल गाउँपालिका–१ स्थित किस्नेघाटमा दाजुभाइसँगै मलामीबीच पनि कुटाकुटको अवस्था श्रृजना भएको स्थानीयले जानकारी दिएका छन् । रघुनन्द गौतमको ८५ वर्षको उमेरमा मंगलबार बिहान निधन भएपछि उनलाई दाहसंस्कार गर्न किस्नेघाटमा लगिएको थियो । सो क्रममा बुबाको जिउनीका विषयमा विवाद भएपछि त्यस्तो अवस्था श्रृजना भएको हो ।

रघुनन्द विगत केही समयदेखि काइँला छोरा (कुलेन्द्र)सँग दमकमा बस्दै आएका थिए । तर, उनलाई एक वर्षअघिदेखि रोगले च्याप्दै लगेको थियो । रोगले च्याप्दै लगेपछि काइँला छोराले उपचार नगरेको स्थानीयको भनाइ छ । एकवर्ष अघि बिरामीले थलिएका रघुनन्द साइँला छोरा (नरेन्द्र)सँगै कमल गाउँपालिकामा बस्दै आएका थिए ।

सोही क्रममा आर्थिक अवस्था कमजोर भएका साइँला छोराले बुबाको उपचारका लागि कोइलो भाइलाई आग्रह गरेका थिए । उनले पनि आफूलाई ऋण लागेकाले उपचार गर्न रकम नभएको बताए । साइला भाईले बुबाको जिउनी बेचेरै भएपनि उपचार गर्ने निधो गरे । तर, काइलो भाइले सो जिउनी आफ्नो नाममा पारेको खुलेपछि दुवैबीच झगडाको सुरुआत भएको थियो । ‘बुबाको जिउनी पुनः फिर्ता गर्न भन्दा भाइले अटेर गर्यो, बाबुलाई उपचार गर्दा मलाई ऋण लागेको छ भनेर भाइ पन्छिन खोज्यो’, नरेन्द्रले भने, ‘समाज राख्नेदेखि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिँदा भाइले जिउनी फिर्ता गरेनन् ।’

यो विषय चर्किदै गएपछि दुवै दाजुभाईविच विवाद झनै उग्र बन्दै गएको थियो । रघुनन्दको निधनपछि दागबत्ति दिए लगत्तै दमकबाट केही युवासहित आएका काइलो भाईले भतिजलाई अपशब्द प्रयोग गरेपछि हात हालहालसम्मको अवस्थामा पुगेको स्थानीय मलामी गएकाले बताएका छन् । विवादका क्रममा काइला भाइ र बुहारीले दाजु र भाउजुलाई समेत अपशब्द प्रयोग गर्दै हात हालेपछि घटनास्थलमा ठूलै तनाव श्रृजना भएको थियो ।

‘भाउजुलाई अपशब्द प्रयोग गरेपछि नरेन्द्रले भाइलाई हात हालेका हुन, आर्यघाटमा युवाहरूको समूह बनाएर आएका रहेछन्’ स्थानीय तुलसीराम दंगालले भने । उनले आजसम्म यस्तो घटना नदेखेको बताए । ‘सम्पत्तिको लोभले बुबाको अन्तिम बिदाइ गरिरहँदा घाटमै दाजुभाइबीच कुटाकुट भयो । कुलेन्द्र त शिक्षक हुन्, उनले विद्यार्थीलाई कस्तो शिक्षा र संस्कार दिन्छन् ? हाम्रो समाज कहाँ जाँदैछ ?’,

निक्कै निराश देखिएका उनले प्रश्न गरे । उता आरोप लागेकाभाइ कुलेन्द्रले भने सिंगो समाज नै आफूविरुद्ध लागेको आरोप लगाए । उनले समाजले आफूलाई नै गलत देखाउन लागि परेको भन्दै आक्रोश व्यक्त गरे । ‘सिंगो समाज नै मबिरुद्ध लागेको छ । मैले यो समाजको के बिगारिदिएको छु ?’ उनले प्रश्न गरे । तर, स्थानीयले भने सबै दाजुभाईबीच अंशका बारेमा झगडा हुने भएपनि दागबत्ती दिएलगत्तै कुटाकुट हुनुले समाजकै बेइज्जत भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्