प्रदेश २ को सरकार ढालेर देखाउन प्रचण्डलाई राउतको चुनौती


 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा समेत नेकपाकै नेतृत्वका सरकार बनाउने चेतावनी दिएका छन् । प्रदेश २ को सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै प्रचण्डले नेकपाकै नेतृत्वमा सरकार बनाउने चेतावनी दिएका हुन् । प्रदेश २ मा अहिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त सरकार रहेको छ ।

मंगलबार आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै प्रचण्डले दुई नम्बर सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । ‘ठूलो दलको नाताले चलखेल गर्ने हो भने अहिले त्यहाँ हाम्रो नेतृत्वमा सरकार बन्न सक्छ । तर उहाँहरुले बनाएको सरकार चलोस् हाम्रो साथै रहन्छ भनेको हो ।’ प्रचण्डले भने,‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी, व्यक्ति व्यक्तिका फोन नम्बर रेडबुकमा छ भनेको सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हो भने हामीले दुई नम्बर सरकारको पनि नेतृत्व लिन पर्ने अवस्था आउन सक्छ ।’

प्रचण्डको अधिव्यक्तिलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चुनौती दिएका छन् । मुख्यमन्त्री राउतले बहुमत पु¥याएर सरकार बनाउन ‘प्रचण्ड’ लाई चुनौती दिएका छन् । मुख्यमन्त्री राउतले नेकपा अध्यक्ष प्रचण्डको धम्कीबाट आफू नडराउने जनाउँदै भने, ‘हामी त्यस्ता धम्कीबाट डराउने पक्षमा छैनौं । बहुमत पुगे सरकार बनाए हुन्छ, सरकार बनाउन उहाँलाई कसले रोकेको छ र ?’

नेकपा अध्यक्ष प्रचण्डको यस्ता भनाइले आफूलाई केहि फरक नपर्ने दाबी गर्दै राउतले आफ्नो अभियान चलिरहेको बताए ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको प्रचण्डको आरोपप्रति ‘संघीय सरकारमा भइरहेको भ्रष्टाचार बारे जगजाहेर छ, प्रचण्डजीलाई यसबारे थाह छ कि छैन?’ राउतले प्रचण्डसँग प्रश्न गरे, ‘प्रदेश सरकारले कहाँ कति भ्रष्टाचार गरेको छ प्रचण्डजीले देखाइदिनु प¥यो । कर्मचारी नै नरहेको मुख्यमन्त्री कार्यालयमा कसरी भ्रष्टाचार भयो ?’

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्