नेकपाको सरकारले वादी समुदायलाई बाँड्यो लालपूर्जा


 


डोटी । डोटी जिल्लामा वर्षौंदेखि भूमिहीन भएर बसेका वादी समुदायका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किनेको छ । आफ्नो जग्गा जमीन नभएर सडक किनारामै बसेर जीवनयापन गरिरहेका यहाँका वादी समुदायका लागि रु १२ लाखमा जग्गा किनेर हस्तान्तरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नकपा)का नेता भीम रावलले दिपायल सिलगढी नगरपालिकाले किनेको जग्गा आज एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभयो । जग्गा हस्तान्तरण कार्यक्रममा नेता रावलले माधकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा जनता आवास कार्यक्रम लागू भएर जग्गा किन्ने र घर बनाउने योजना अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालामा जग्गा किन्ने र घर बनाउने योजना शुरु भएको हो । आज आफँैले भूमिहीनलाई लालपूर्जा दिन पाए ।”

वर्षौदेखि लालपुर्जा बिहीन भएका डोटीका बादी समुदायलाई दिपायल–सिलगढी नगरपालिकाले किनेको जग्गाको लालपुर्जा दिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं पूर्व गृहमन्त्री भीम रावल । तस्वीर ः विमलबहादुर विष्ट, रासस, डोटी

सोही कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जग्गा जमीन नभएर दिपायलका सडक किनारामा बस्दै आएका वादी समुदायको समस्यालाई बुझेर जग्गा किनेको बताउनुभयो । उहाँले भन्नुभयो, “वादी समुदायले जग्गाको उपभोग नगरी बेचेर अर्को ठाउँमा गएर सुकम्बासी बन्न पाइने छैन ।” आफ्नो नाममा जमीन नहुँदा यहाँका वादी समुदाय वर्षौंदेखि सडक किनारामा बस्दै आएका थिए । नगरपालिकाले जग्गा किनेपछि अहिले दिपायलका वादी समुदाय खुशी भएको छ । आयआर्जन तथा सीपमूलक तालीम दिने व्यवस्था गररिदिन श्याम वादीले नगरप्रमुख मलासीसँग आग्रह गर्नुभयो । केही महीनाभित्र घर निर्माणका लागि पहल गर्ने मलासीले बताउनुभयो ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्