मेयर हुनु त झापाको कन्काईका जस्तो ! आफ्नो एक वर्षको सबै तलब मजुदरलाई


 


झापा । झापाको कन्‌काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले आफ्नो एक वर्षको तलब बापतको रकम स्थानीय मजदुरहरुलाई दिएका छन् । १२९ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर नगर प्रमुख पोखरेलले पहिलो वर्षको ३ लाख २५ हजार ४ सय ६० रुपैयाँ पारिश्रमिक मजदुर हितका लागि स्थापित मजदुर हितकोषलाई बुधबार प्रदान गरेका हुन् ।

५ लाख रुपैयाँबाट सुरु गरेको मजदुर हितकोषमा १५ लाख ५० हजार रुपैयाँ भएको नगर प्रमुख तथा हितकोषका अध्यक्ष पोखरेलले बताए। ‘नगरका मजदुरलाई सहयोग पुर्याउने उद्देश्य राखेर पहिलो मजदुर हित कोष स्थापना गरेका हौँ’,नगर प्रमुख पोखरेलले भने,‘कोषलाई बढाएर एक करोड पुर्याउने लक्ष्य राखेका छौँ।’

उनले १० जना मजदुरको जीवन बिमा समेत गरिने जनाए। मजदुर घाइते भएमा ३ लाख रुपैयाँसम्म खर्च व्यहोर्ने र १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरिएको उनले बताए। मजदुर कोषको ब्याज बापतको रकमबाट मजदुरका जेहेन्दार छोराछोरीलाई डाक्टर पढ्ने वातारण समेत मिलाइने जनाइएको छ।

कोषका सदस्य सचिव हरिप्रसाद मिश्रले कोषमा करिब २० लाख रुपैयाँ जम्मा भइसकेको जनाए। उनले यो कोषको ब्याज बापतको रकम मजदुर र उनीहरुका छोराछोरीको हितमा खर्च गरिने बताए। यही रकमवाट वार्षिक १० जना श्रमिकको जनही १० लाखका दरले बिमा पनि गरिने छ। कन्काई नगरमा विभिन्न उद्योगधन्दा र कलकारखाना लगायतका स्थानमा करिब ७ सय मजदुर कार्यरत रहेको जनाइएको छ।

कार्यक्रममा ४ जना पुराना मजदुरलाई सम्मान गरिएको थियो। श्रमिक नारायणप्रसाद रिजाल, सवारी चालक पुष्प भट्टराई, पेन्टर महिला कल्पना नेपाल र हप्पनमई किस्युलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्