त्रिपाठीले मन्त्री मागेपछि नेकपामा हाँसो


 


काठमाडौं, १९ वैशाख । तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव जितेका हृदयश त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईवटा महत्वपूर्ण पद माग गरेको खुलासा भएको छ । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ ।

त्रिपाठीले मन्त्री र नेकपाको स्थायी समिति सदस्य पद माग गरेका हुन् । स्रोतका अनुसार त्रिपाठीले केही दिन अगाडि ओलीसँग भेटेर आफूलाई मन्त्री बनाउन आग्रह गरेका छन् ।

ओलीले स्पष्ट जवाफ दिएका छैनन् । त्रिपाठीले आफूलाई मात्रै पद मागेपछि अर्का सांसद बृजेशकुमार गुप्तालाई तनाब भएको छ । त्रिपाठीको भर परेर बसेका गुप्ता आफू एक्लैले केही गर्न सक्दैनन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी छाड्ने बेला त्रिपाठीलाई गुप्ताले साथ दिएका थिए । एमालेको सूर्य चुनाव चिन्ह लिएर त्रिपाठी र गुप्ताले निर्वाचन जितेका थिए ।

नेकपाभित्र आफूले भने जस्तो भएन भने त्रिपाठी र गुप्ताले अर्को बिकल्प खोज्ने तयारी गरेका छन् । यद्यपि उनीहरू तत्काल कुनै बिकल्प खोज्ने छैनन् । सूर्य चिन्हबाट निर्वाचन जितेपछि त्रिपाठी र गुप्तालाई घाँडो भएको छ ।

निर्वाचन कानूनले गर्दा उनीहरूले नेकपालाई छाड्न पनि सक्दैनन् । अरु केही गर्ने अवस्था पनि छैन । नेकपाभित्रै बसेर मन्त्री र स्थायी समिति सदस्य पाउनका लागि त्रिपाठीले जोडजुलुम गरेका हुन् । गुप्ता पोलिटब्युरो सदस्यसम्म बन्ने योजनामा छन् । गुप्ता त्रिपाठीलाई छाडेर कतै नजाने पक्षमा छन् ।

नेकपामा हालै समायोजन गरेर नेताहरूलाई व्यवस्थापन गरिएको थियो । तर, त्रिपाठी र गुप्ताका जिल्ला नेताहरूलाई कुनै पनि स्थान दिइएन । आफ्ना नेता तथा कार्यकर्ताहरूलाई ठाउँ नदिएपछि त्रिपाठी र गुप्ता रिसाएका छन् ।

त्रिपाठीको कुराले नेकपाभित्र हाँसो हुन थालेको छ । नेकपाका एकजना नेताले भने, ‘वर्षौंदेखि पार्टीमा आवद्ध हाम्रो त कुनै माग पूरा हुन सकेको छैन, त्रिपाठी र गुप्तालाई केको हतारो ?’

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्