उद्योगकै कोठाभित्र लगेर कर्मचारीको श्रीमतीमाथि बलात्कार गर्ने उद्योगी पक्राउ


 


विराटनगर, बैशाख १९

आफ्नै उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगरका उद्योगी दीपक गौतमलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ घर भएका गौतमलाई प्रहरीले पक्राउ गरेर आज जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार गौतम विराटनगर–३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि डिजाईनका कामहरु हुँदै आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गौतमले महिलामाथि बैशाख १५ गते साँझ ७ बजे उद्योगकै कोठा भित्र जवरजस्ती लगेर बलात्कार गरेको खुलेको छ ।

डीएसपी श्रेष्ठका अनुसार ती महिला उद्योगमै कार्यरत आफ्ना श्रीमानसँग उद्योग परिषरमै रहेको फेमिली क्वार्टरमा बस्दै आएकी थिइन । हिजो साँझ महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गौतमलाई तत्कालै पक्राउ गरिएको श्रेष्ठको भनाइ छ । प्रहरीले महिलाको स्वास्थ्य परीक्षण कोसी अस्पताल विराटनगरमा गराएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्