विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन उद्योगी व्यापारीको माग


 


विराटनगर, बैशाख १९

उद्योगी व्यवसायीले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाइनु पर्ने माग राखेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले आज संयुक्त विज्ञप्ति जारी गर्दै आर्थिक एवं औद्योगिक र ऐतिहासिक नगरी विराटनगरलाई प्रदेशको राजधानी बनाउने सन्दर्भबाट पाखा लगाउन खोजिएको प्रति ध्यानआकर्षण भएको जनाउनु भएको छ ।

मुलुकको आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको विराटनगरबाट राजधानी अन्यत्र लैजान नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । बहुजाति, धर्म–संस्कृति, भाषा–भाषी र विभिन्न सम्प्रदायबीच सद्भाव कायम रहनुका साथै दलिय र जातिय समन्वय उत्कृट रहेको सहर विराटनगर काठमाडौं पछिको ठूलो महानगरका रुपमा स्थापित भएको दाबी विज्ञप्तिमा गरिएको छ ।

राजधानीका रुपमा प्रदेशकै ठूला सरकारी कार्यालय, सयौं उद्योगहरु, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ७ वटा मन्त्रालय, संसद भवन, जिल्ला तथा उच्च अदालत, क्षेत्रीय विमानस्थल, राजस्व न्यायाधीकरणको कार्यालय र ३० भन्दा बढी सार्वजनिक संस्थाका कार्यालयहरु रहेको तथा ठूला स्वास्थ्य संस्थाहरु, व्यापारिक केन्द्र एवं सयौं विगाहा सार्वजनिक जग्गा जमिन रहेको विराटनगरको विकल्प हुन नसक्ने उद्योगी व्यवसायीको ठहर छ । उपलब्ध पूर्वाधार एवं सक्रिय जीवनशैलीको निपूर्णताका कारण पनि विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने माग उद्योगी व्यवसायीको छ ।

राजधानी बन्नका लागि तोकिएका मापदण्ड पूरा भइसकेको अवस्थामा विराटनगर महानगरपालिकालाई उपयोग नगरिकन राजधानी अन्यत्र लगिए मुलुकको ठूलो धनराशी फेरी पूर्वाधार निर्माणमै खर्च हुने र राष्ट्रको ढुकुटीमा ठूलो असर पर्ने विज्ञप्तिमा उल्लेख छ । राजनैतिक परिवर्तनका लागि विगतमा विराटनगरले पु¥याएको ठूलो योगदानको कदर प्रदेश राजधानी बनाउँदा मात्रै हुने दाबी उद्योगी व्यवसायीको छ ।

गलत निर्णय भएर राजधानी अन्यत्र सरेमा त्यसको दोषका साथै जवाफदेहिता लिन सरकारको नेत्रृत्व गर्नेहरु तयार हुनु पर्नेतर्फ पनि विज्ञप्तिमा सजग गराइएको छ । विज्ञप्तिमार्फत विराटनगरलाई स्थायी राजधानी बनाउनेतर्फ सांसद र राजनैतिक दलहरुलाई ध्यान केन्द्रीत गर्न पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्