नयाँ शक्ति र फोरमकाे एकतामा राजपा र जनमुक्ति पार्टी पनि !


 


काठमाण्डौ – नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकताको अन्तिम तयारी गरिरहँदा एकतामा राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सहभागी हुने भएको छ ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी कार्यालयमा बुधबार चारै दलका नेताहरुबीच छलफल भएको छ । छलफलमा सहभागी नेताहरुले बृहत छलफल गरेर चारै वटा पार्टी एक हुने गरी खाका तयार पार्न पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई जिम्मेवारी दिएका छन् ।

सँगै आआफ्नो पार्टीमा थप छलफल गरेर एकताको तयारी गर्ने पनि नेताहरु बीच सहमति भएको छ । पार्टी भित्र छलफल गरेर १/२ दिनभित्रै फेरि चारै दलबीच बैठक बस्ने सहमति बनेको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।

एकीकरण, मोर्चाबन्दी जे-जे गर्ने भए पनि चारै पार्टीबीच गरौँ भन्ने प्रस्ताव राजपाले राखेको पनि उहाँले बताउनुभयो । यस अघि फोरम र नयाँ शक्तिबीच केही दिन भित्रै एकता गर्ने लगभग सहमति भइसकेको थियो ।

तर अन्य दुई दल पनि एकतामा सहभागी हुने भनेपछि अहिले एकतालाई पछाडि सार्दै सबैलाई एकै ठाउँमा ल्याउने गरी खाका तयार पार्ने सहमति जुटेको हो ।

छलफलमा भट्टराईसँगै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाको सहभागिता थियो ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्