सुदूरपश्चिम प्रदेश सरकारले झण्डै ३० अर्बको बजेट ल्याउने, चार जिल्ला विशेष प्राथमिकतामा


 


धनगढी, वैशाख २०
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३० अर्बसम्मको बजेट ल्याउने तयारी गरेको छ ।

प्रेस क्लव नेपालले शुक्रबार धनगढीमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहराले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याइने जानकारी दिनुभयो ।

उहाँले आगामी बजेटका लागि मन्त्रालयले गृहकारी सुरु गरिसकेको बताउनभुयो । मानव सूचकांकको आधारमा बझाङ, बाजुरा, दार्चुला र अछामलार्इ विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताउनुभयो ।

बजेटका बारेमा सम्बन्धित सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘बजेटका बारेमा प्रदेशका सबै जिल्लामा छलफल तथा अन्तरक्रिया गरिरहेका छौं । के–कस्ता कार्यक्रमलाई समेट्ने र कसलाई प्राथमिकतामा राख्ने भन्नेबारेमा गहन गृहकार्य भइरहेको छ ।’

उहाँले एक मापदण्ड बनाएर सोहीअनुसार बजेट निर्माण गर्ने काम भइरहेको बताउनुभयो । गत वर्ष पहुँचका आधारमा बजेट बाँडियो भन्ने गुनासाहरु आएको भन्दै उहाँले यस वर्ष निश्चित मापदण्डका आधारमा मात्रै कार्यक्रम समेटिने बताउनुभयो ।

मन्त्री वोहराले कैलाली र कञ्चनपुरमा विशेष औधोगिक क्षेत्र बनाई बजेट छुट्याउने बताउनुभयो । उहाँले प्रदेशको राजधानीका लागि पनि बजेट छुट्याउने जानकारी दिनुभयो । आगामी जेठ १५ गतेभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार १ गते बजेट ल्याउने तयारी रहेकाे छ ।

सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष २५ अर्ब ६ कराेड ५६ लाखकाे बजेट ल्याएकाे थियाे । जुन बजेट हालसम्म १५ प्रतिशत मात्रै खर्च हुन सकेकाे छ । यद्दपि भाैतिक प्रगित भने बढी भएकाे मन्त्री वाेहराकाे दाबी छ । उहाँले चालु बजेट किरब ६० प्रतिशत खर्च हुने दाबी गर्नुभएकाे छ ।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्