प्रधानमन्त्री ओलीकी छोरी पाठ्यपुस्तकविहीन
मुगु । गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगु मकामरोग गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमु लामा पुस्तक बिना विद्यालय जान बाध्य छिन् । गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको सुरुआत गरेका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठिले साङमुको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए ।
कक्षा–१ मा प्रथम भई वैशाख–२ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा–२ मा भर्ना भएकी ठिल्लेसाङमुको हातमा किताब छैन । भर्ना भएको तीन सातासम्म पनि किताब उनको हातमा परेको छैन । उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन् ।

शिक्षकले पुस्तक आउँछ भन्दै दैनिकजसो टार्ने गरेको उनको गुनासो छ । उनका बाजे कार्माछेवाङ लामाले किताब नपाउँदा नातिनीले पढाइमा ध्यान नदिएको बताए । ‘विद्यालय त नियमित जान्छिन्’ उनले भने, ‘तर पुस्तक बिनै स्कुल पठाउँदा पढाइमा उनले जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेकी छैन ।’ प्रधानमन्त्रीकी छोरी ठिल्लेसाङमू लामाको हातमा पाठ्यपुस्तक नहुँदा पढाइ प्रभावित बनेको छ ।
उनीमात्र होइन, प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामाले पनि नयाँ पाठयपुस्तक पाउन सकेकी छैनन् । उनी अहिले कक्षा–३ मा भर्ना भएकी छन् । उनको पनि पढाइ प्रभावित भएको छ । दुवैजना पाठ्यपुस्तक हातमा नहुँदा विद्यालय नियमित छैन ।
प्रकाशित मिति: २२ बैशाख २०७६, आइतबार










