रिना बस्नेत संकास्पद मृत्यु प्रकरण : तीन जनाको पोलिग्राफ जाँच


 


विराटनगर, बैशाख २४

मोरङको पथरीकी रीना बस्नेत मृत्यु सम्बन्धी घटनामा प्रहरीले तीन जनाको पोलिग्राफ जाँच गरेको छ । वैशाख ७ गते शनिबार बिहान बस्नेतको निर्वस्त्र शव आफ्नै डेरा अगाडिको सडकमा घोप्टो अवस्थामा फेला परेको थियो ।

त्यो घटनाको सुक्ष्म र गहन अनुसन्धान गरिरहेको मोरङ प्रहरीले शङ्कास्पद तीन जनाको पोलिग्राफ जाँच गराएको छ । प्रहरीले रीनाको प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीनाले डेरा गरी बस्ने घरमै बस्दै आएका मदन भट्टराईको पनि पोलिग्राफ जाँच गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले तीनजनाको पोलिग्राफ जाँच गरिएको जानकारी दिएका छन् । उनले भने, ‘‘यसअघि बयान पनि लिएका थियौं तर थप अनुसन्धानका लागि पोलिग्राफ पनि जाँच पनि गरिएको हो ।’’ यो जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने डिएसपी श्रेठले बताए ।

नेपाल प्रहरी हिरासतमा छन् । मदन परिवारको साथमा मृतक रीना बस्दै आएको फ्ल्याटको पूर्वतर्फको भागमा बस्दै आएका छन् । मोरङ प्रहरीले यो घटनामा ३७ जनासँग लिखित बयान लिएको र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको छ । पोष्टमार्टम रिपोर्टमा रीनाको करङ भाँच्चिएको, टाउकोमा भित्री चोट देखिएको, छातीभित्र रगत जमेको देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्