“गायन क्षेत्रमा पैसाको खोलो बगाएर मात्र हुँदैन कला, गला र परिश्रमको मेल हुनु पर्दछ”


 


आहाँ म भोजपुरे तपाई भोजपुरे हामी भोजपुरे भन्दा यो अटेसमटेस उकुस मुकुस भएको घनाबस्तीमा जम्काभेट हुँदा धेरै रमाईलोको अनुभूति हुँदोरहेछ । काठमाण्डौं बानेश्वर पिपलबोट नजिकैको क्याफेमा घाटीमा गितार झुण्डाएर बसि रहेका भीम थापा मगरसँगको जम्काभेट हुँदा यो भौतारिएको मन एकैछिन भएपनि ७ वर्ष अघि भोजपुरको चारभञ्याङ्गमा छिनामुखुबाट डोकोमा बोकेर ल्याएको सुन्तलाले प्यास मेटाएको क्षण अनि ओख्रे डाँडामा लाग्ने सप्तमी मेलाको याद स्मरण हुन पुग्यो ।

bhim thapa magar
युवा गायक भिम थापा मगर

भोजपुरको धोद्लेखानीमा जन्मेर काठमाण्डौंलाई कर्मथलो बनाउँदै हाल भक्तपुुर बालकोटमा गित संगितमै पसिना बगाई रहेका भोजपुरका युवा गायक भिम थापा मगर २०६६ साल देखि गायन क्षेत्रमा लालयित भएका थापाले कलेक्सन एल्वम् मार्फत तिमी साथ देउँ भन्ने बोलको गीतबाट यस क्षेत्रमा प्रारम्भ गरी सहयात्रा एलवम साथै विभिन्न सिङगल कलेक्सन गरी जम्मा ७–८ वटा गीत निकालिसकेका गायक भीम थापासँगको देशकाेन्युजका लागि  एकराज भुजेलले गरेकाे भलाकुसरी

गीत संगितको दौडानमै भोजपुरलाई छोडेर काठमाण्डौंलाई रोज्नु भएको हो ?

वास्तवमै हो, आजको समयमा प्रतिस्पर्धाले नै अघि बढ्नु पर्ने भएकाले र काठमाण्डौंमा धेरै सहजता महशुस गरेकाले नी सहर छिरेको हुँ ।

तपाई साङ्गीतिक क्षेत्रमा कहिले बाट लाग्नु भो नी ?

म २०६६ साल देखि नै यस क्षेत्रमा लागेको हुँ ।

तपाई भोजपुरको धोद्लेखानीमा जन्मेर पनि अन्य पेशामा नलागेर किन गीत संगित नै रोज्नु भो ?

मेरो शोख नी गायक बन्ने थियो बालापन देखी नै त्यसैले अन्य पेशामा लागिन सबै साथिहरु लाहुरे भएर गए म यही गीत संगितमै लोभिएको छु ।

तपाई शोखकै लागि की व्यवसायको लागि गायन क्षेत्रमा लाग्नु भो ?

म मूलतः शोखकै लागि हो तर काठमाण्डौंमा बाच्नको लागि पनि व्यवसाययिक तवरले पनि अघि बढ्नु पर्ने बाध्यता आउँदो रहेछ ।

नेपालमा गायकहरुले पैसा लगानी गरेर लाम लाग्ने लहर चलेको छ स्वर उत्कृष्ट नभए पनि एलवम निकाल्ने गरेको पाइन्छ यसमा तपाईको के विचार ?

रहर सबैमा हुन्छ पैसा लगानी गरेर निकाले पनि मिहेनत र परिश्रम गरेर प्रतिष्पर्धामा आउन सक्नु पर्दछ । परिश्रम अनुसार कला गला भो भने टाकुरा पुग्न सकिन्छ । गायन क्षेत्रमा पैसाको खोलो बगाएर मात्र हुँदैन कला र गला अनि परिश्रमको मेल हुनु पर्दछ ।

तपाई श्रोता दर्शकको माझ आफूलाई कुन गायक भन्न रुचाउनु हुन्छ ?

म आधुनिक तथा पप गायक भन्न रुचाउँछु ।

तपाईले हालसम्म कति वटा अडियो भिडियो निकाल्नु भएको छ ?

८ वटा त्यसमा २ वटा म्यूजिक भिडियो छ ।

तपाईको बिचारमा कुन गीत बढी श्रोताले मन पराए जस्तो लाग्छ ?

प्रायःजसो मेरो गीत सबै नै श्रोताको मन मस्तिष्कमा अटेको छ त्यसमा पनि बरु म मर्न  सक्छु मायाँ मार्न सक्दिन भन्ने गीत बढी मात्रामा सबैको जनजिब्रोमा झुण्डिएको छ ।

तपाईको गीतमा मायाँ प्रितीकै शब्दहरु समावेश भएका छन् तपाई पनि माया जालमा फस्नु त भएको छैन ?

अहिले सम्म मायामा फसेको छैन एक कल्पनामा मात्र डुबेको हुँ ।

तपाईले गीतमा चाही आउन वर वर भनेर गाउन भएको छ साच्चिकै गीतमा भनेजस्तो जीवनको साथी रोज्नु भएको छैन ?

(हास्दै) यो भोलिको कुरा हो समय आएपछि रोज्नु पर्दछ ।

अहिले तपाई के मा व्यस्त हुनुहुन्छ नी ?

म अहिले अर्को नयाँ गीतको तयारीमा छु ।

तपाई देशको न्युज अनलाइनबाट आम श्रोता दर्शकलाई के भन्न चाहनु हुन्छ ?

मेरो गीत सुनेर सहयोग गरिदिनु होला । बरु मर्न सक्छु तथा आउन वर वर गीत युटुवमा हेरेर मेरो गायन क्षेत्रमा कमी कमजोरी भए मेरो फेसबुक [email protected] तथा मोवाईल नं.९८४३२७६६६८ मा सम्पर्क गरेर प्रतिक्रिया दिनुहोला । तपाईहरुको मायाँ ममताले नी पुनः नयाँ गीत लिएर तपाईहरु सामु चाडै नै आउँदैछु ।

प्रकाशित मिति: १० बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्