यी हुन् श्रीमान श्रीमतीले कहिले अरुसँग गर्न नहुने कुराहरु ?


 


श्रीमान् श्रीमती एकै रथका दुई पांग्रा हुन् । रथको एक पांग्रा विग्रिए वा नभए रथ अगाडि जान सक्दैन । त्यस्तै श्रीमान् श्रीमतीबीच समस्या उत्पन्न भयो भने रथ रुपी सम्बन्धपनि अघि बढ्न सक्दैन । त्यसमा समस्या उत्पन्न हुन जान्छ । त्यसैले श्रीमान् श्रीमतीले वैवाहिक जीवन सन्तुलित र सधैं सुखी राख्नको लागि सचेत हुनुपर्छ ।

पतिपत्नीबीच कहिलेकाहीँ झगडा हुन्छ । ‘बुढाबुढीको झगडा परालको आगो’ भन्ने त लोक उक्ति नै छ । पति पत्नीले केही कुरालाई दुई जनाबीच मात्र सिमित राख्न जरुरी छ । यी ५ कुरालाई सकेसम्म तेस्रो पक्षसँग पुग्न नदिने प्रयास गर्नुभयो भने पति पत्नीबीच समस्या देखिने छैन ।

पति पत्नीबीचको झगडा
पति पत्नीबीच कहिलेकाहीँ झगडा हुन सक्छ । पति पत्नीको झगडा परालको आगो जस्तै हो । तर यही कुरा अर्को पक्षकहाँ पुग्दा त्यसले उग्र रुप लिने सम्भावना पनि हुन जान्छ । वा तेस्रो पक्षले त्यस्ता कुरामा खेल्ने सम्भावना पनि हुन जान्छ । त्यसैले पति पत्नीबीच भएको समस्यालाई आपसी छलफल कुराकानीमा समाधान गर्न जरुरी हुन्छ ।

शयन कक्षका कुरा
पति पत्नीले शयन कक्षा वा वेडरुमका कुरालाई सामान्यतया दुई जनामा सिमित राख्दा फाइदा पुग्छ । यस्ता विषयमा मानिसहरुको विशेष चासो रहन सक्छ । साथीभाईले निकै चासो पूर्वक सोधेको खण्डमा उत्साही हुँदै यस्ता कुराहरु खोल्दा ती विषय कुनै दिन मजाकको विषय बन्न पुग्न सक्छ । एक जना मिल्ने साथीबाट अर्कोमा सेयर हुन जानसक्छ र त्यही कुरा पुन पति वा पत्नीले थाहा पाएमा त्यसले सबैभन्दा ठूलो समस्या ल्याउन सक्छ ।

आर्थिक कुरा
पारिवारिक कलहको अर्को कारण आर्थिक पक्ष हो । आर्थिक रुपमा कमजोर अवस्था भएको खण्डमा यी समस्याहरु धेरै आउने गरेको पाइन्छ । पतिले पत्नीको र पत्नीले पतिको कमाइ कम छ, राम्रो गर्न सकेकै छैन भन्ने अरुलाई सुनाउन जरुरी छैन । किनकी समस्याहरु त पति पत्नी मिलेर नै समाधान गर्ने हो । आर्थिक रुपमा कमाइ गर्न सकेको छैन, पारिवारिक अवस्था यस्तो कमजोर छ लगायतका कुरा बाहिर गर्दा उनीहरुले तपाई माथि हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन गर्न सक्छन् ।

नकारात्मक कुरा
पति पत्नीको सम्बन्ध सधैं राम्रो मात्र हुन्छ भन्ने हुँदैन । यो दुई पक्षबीचको आपसी सहमतिको सम्बन्ध भएका कारण यो सम्बन्धलाई राम्रो बनाउन सकेसम्म सकारात्मक सोच राख्न आवश्यक हुन्छ । पति वा पत्नीको नकारात्मक मात्र कुराबारे साथीभाइसँग सेयर गर्नुभयो भने उनीहरुले पनि त्यसमा हो मिलाउने र दुई जनालाई मिलाउनु भन्दा एक पक्षलाई उचाल्ने, डिभोर्सका लागि उक्साउने आदी कार्य गर्न सक्छन् । त्यसैले नकारात्क विषयलाई मात्र नभइ सकारात्मक विषयलाई प्राथमिकता दिने गर्नुहोस् ।

विवाह पूर्वको सम्बन्ध
पति पत्निले विवाह भन्दा पहिलाको सम्बन्धबारेमा कुरा गर्दा धेरैमा समस्या पर्ने गरेको छ । केहीले त्यस्ता सम्बन्धलाई स्वीकार गर्न सक्दैनन् । त्यसैले यस्ता सम्बन्धहरुलाई सकेसम्म आफैंमा वा पति पत्नीबीचमा राख्ने गर्नुहोस् । ‘मेरो पतिको त पहिला फलानो फलानोसँग अफियर रहेछ नि’ वा मेरो पत्नीको फलानोसँग चक्कर चलेको रहेछ नि भन्दै मिल्ने साथीलाई भन्दा पनि त्यस्ता विषय अन्यत्रसम्म फैलने र रमाइलो रमाइलैमा साथी भाइले त्यस्ता विषयलाई उडाउने आदी गर्दा समस्याहरु उत्पन्न हुन जान्छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: ५ श्रावण २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्