दुर्गन्धित बधशाला, नाक थुनेर मासु किन्नुपर्ने उपभोक्ताको बाध्यता


 


ओखलढुङ्गा : ओखलढुङ्गा सदरमुकाममा सिद्धिचरण नगरपालिकाले सञ्चालन गरेको पशु बधशाला दुर्गन्धित बन्दै गएको छ। सामान्य मापदण्ड समेत नअपनाइ बधशाला सञ्चालन गरिँदा त्यहाँ पुग्दा नाक थुन्नुपर्ने अवस्था भएको छ।

शनिबार र बुधबार लाग्ने हटियानजिकै रहेको पशु बधशालामा हरेक पटक सिद्धिचरण नगरपालिका कर उठाउन भने छुटाउँदैन। तर, बधशालाका लागि सरसफाइ गर्न राखिएका कर्मचारी भने यहाँ हतपत्त नपुगेको व्यवसायीहरुको गुनासो छ। बधशालामा राँगा तथा बंगुर काटेपछि निस्कने हाड, छाला, लादी आदिको व्यवस्थापन नहुँदा समस्या भएको मासु व्यवसायीे जहानसिंह रम्तेलले बताए।

सदरमुकाममा पशु बधशालस्थलबाटै मासु बेचिँदै आएको छ। बधशालामा काटिएको पशुको मासु सिद्धिचरण नगरपालिकासहित मानेभञ्ज्याङ, मोलुङ र सुनकोसी गाउँपालिकाका उपभोक्ताले लैजाने गरेका छन्। शनिबार र बुधबार मासु लिन पुग्ने उपभोक्ताले नाक थुन्नुपर्ने बाध्यता रहेको उपभोक्ता ओम दयालले गुनासो गरे। पशु बधशालामा बेलाबेला जिल्लास्तरीय बजार अनुगमन समितिले अनुगमन गर्दा बधशालाको मासु खान अयोग्य भएको ठहर गरेको छ।

तै पनि उपभोक्ताले फोहोर मासु खान बाध्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ओखलढुङ्गाका प्रमुख हरिकुमार रघु श्रेष्ठले बताउँछन्। नगरपालिकाले यसअघि बधशालाबाट निस्कने छाला र हड्डी निकासी गर्दै आएको थियो। तर छाला र हड्डी निकासी बन्द भएपछि समस्या भएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताए। उनले समस्या समाधानका लागि आफूहरू लागिपरेको दाबी गरे।

नगरपालिकामा भएका दुईवटा वधशाला सुधारका लागि गत वर्ष पनि केही काम गरेको र यो वर्ष पनि काम गर्ने प्रमुख श्रेष्ठको भनाइ छ। पशु बधशाला र मासु जाँच ऐन २०५५ र त्यसका नियमावलीले पशु बध गर्नु अगाडि पशु जाँच गर्नुृपर्ने, इजाजतपत्र लिएर मात्र कारोबार गर्न पाइने, बध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, जथाभावी पशु बध गर्न नपाइने, काटिसकेपछि रगत निथ्राउने, मासुमा भएको छाला काड्ने, खुइल्याउने, सफा गर्ने र भण्डारण गर्ने छुट्टै कोठा हुनु पर्ने प्रावधान छ।

यस्तै, जात अनुसारका पशुको वधशाला छुट्टाछुट्टै हुनुपर्ने, स्थानीय सुपरिवेक्षकले जारी गरेको स्थान, जाँच प्रमाण पत्र क्रे हाे देख्ने गरी राख्नु गर्ने, पानीमा भिजेको, चिसो कपडाले छोपेर मासु बेच्न नपाइने, निरीक्षकले लगाइदिएको जाँच चिह्न देखाएर मात्र बेच्न पाइने लगायतको व्यवस्था छ। तर यहाँ उक्त प्रावधान पालना भएको पाइँदैन।

जिल्ला सदरमुकाममा रहेको बधशाला अब्यवस्थित हुँदा मासु किन्न नै समस्या भएको होटल ब्यवसायी संजिव कार्कीकोले गुनासो गरे। आफूले होटलमा लोकल तथा स्थानीय जातका तरकारी मात्रै प्रयोग गर्दै आइरहेको भए पनि मासु किन्न जाँदा नाक थुनेर जानुपर्ने भएका कारण सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्