नेपाल ओलम्पिक कमिटीको शुक्रबार हुने भनिएको कार्यसमिति निर्वाचन स्थगित


 


काठमाडौँ १९ भदौ
नेपाल ओलम्पिक कमिटीको शुक्रबार हुने भनिएको कार्यसमिति निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतमा रिट परेपछि मंगलबार अन्तरिम आदेश जारी गर्दै निर्वाचानसम्बन्धी कार्य अघि नबढाउनू भनेको थियो । पुरानो कमिटि (रुक्मशम्सेर राणा नेतृत्व) वैध रहेको दाबी गर्दै कमल चित्रकारले हालेको रिटमा अन्तरिम आदेश जारी गरेसँगै सर्वोच्चले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको छ ।

लोकभक्त राणा संयोजकत्वको निर्वाचन आयोगले पनि ‘नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचन तालिकाअनुसार मतदान कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित’ गर्ने निर्णय बिहीबार गर्‍यो । राणाको अध्यक्षतामा सन् २००७ मा भएको साधारणसभाबाट ध्रुवबहादुर प्रधान नेपाल ओलम्पिक कमिटीको अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि राणाले आफ्नै नेतृत्व कायम रहेको दाबी गरेपछि विवाद सिर्जना भएको हो ।

कमिटिमा विधानअनुसार निरन्तर दुई कार्यकालसम्म मात्रै अध्यक्ष रहन पाउँछ । प्रधानले दुई कार्यकाल नेतृत्व गरेपछि जीवनराम श्रेष्ठ सन् २०१५ मा ओलम्पिक कमिटी अध्यक्ष चुनिए । त्यसबेला उनले तत्कालीन उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई १७–८ मतले पराजित गरेका थिए । यसबीच पनि १२ वर्षअघिको नेतृत्व विवादलाई लिएर अदालतमा मुद्दा चलिरहेकै छ ।

४ वर्षे कार्यकालको लागि यसपालि अध्यक्षको लागि उनै श्रेष्ठद्वयले उम्मेदवारी दर्ता छन् । महासचिवमा जीवनराम निकट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे उम्मेदवार छन् । ओलम्पिक कमिटीमा २७ संघका १–१ प्रतिनिधि मतदाता रहने व्यवस्था छ । यसैपालि ३ पद थपेर कार्यसमितिलाई १९ सदस्यीय हुने बनाइएको छ । र, त्यसमा २६ संघका प्रतिनिधिले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्