नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते



काठमांडाै २६ भदाै
नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो ।

सर्वोच्च अदालतले वि.सं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

त्यस्तै कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News