राष्ट्रपति सीले गरेका सम्झौता कार्यान्वयन गर्न चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा


 


काठमाडौं, मंसिर ९

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन ‘अनन्त’ र चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्धिपक्षीय हितका साथै उर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी जिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे । ‘नेपाल र चीनबीच लामो समयदेखी राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ । यसप्रकारका उच्चस्तरिय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणको लागी प्रोत्साहन समेत गर्नेछ भन्ने मेरो विश्वास छ ।’ मन्त्री पुनले भेटमा भने ।

नेपाल भ्रमणको क्रममा आईतवार काठमाडौं आएका गर्भनर चेङगफा नेतृत्वको ८ सदस्यीय प्रतिनिधिमण्डलले उर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसग छलफल गरेको हो । छलफलमा उर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले तामाकोशी जलविद्युत आयोजनामा युनानको प्रान्तिय सरकारले नै लगानी गर्ने खबर आफुले प्राप्त गरेको भन्दै अन्य जलविद्युत परियोजनामा पनि लगानी गर्न आग्रह गरे । ‘तामोकोशी जलविद्युत परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ । यसमा म तपाईहरुलाई स्वागत र धन्यवाद दिन चाहन्छौ । पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताहरुको संख्या धेरै छ ।’ मन्त्री पुनले भने ।

उनले सरकारले जलविद्युतको क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युतमा थप लगानीका लागी पहल गरिदिन आग्रह समेत गरे । मन्त्री पुनले भने, ‘हामीले जलविद्युत क्षेत्रमा लचिलो नीति लिएका छौं, पहिलो १० वर्षमा आयकर समेत छुट हुने प्रावधान छ । नेपालभित्र खपतको लागी बजारको विस्तार पनि हुँदै गएको छ ।

भारत, कोरिया र चीनलगायतका देशबाट पनि लगानीकर्ताहरु आइरहेका छन् । हामी युनानवाट पनि थप लगानी होस् भन्ने आशा राख्छौ ।’ बङ्गलादेश र भारतमा विद्युत व्यापारको लागी ढोका खोलेको भन्दै नेपालमा पनि बजार निमार्ण भइरहेको मन्त्री पुनको भनाई थियो । उनले ४ वर्षभित्र ५ हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिँदै नेपालले जलविद्युतको क्षेत्रमा प्रगति गरिरहेको बताए ।

मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दै युनान प्रान्तका जनतालाई नेपाल भ्रमणको लागी यो सन्देश प्रवाह गरिदिन आग्रह समेत गरे । भेटमा युनान प्रान्तका गर्भनर रुएन चेङगफाले आफु पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि सम्झौता कार्यान्वयनका लागी नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

उनले नेपाल र चीनबीच पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे । गर्भनर चेङफाले तामाकोशी ३ जलविद्युत आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना सुरुवात मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत क्षेत्रमा थप लगानी गर्ने धारणा राखे ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसँगै युनान प्रान्त र नेपालको व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गरे । युनान प्रान्तका गर्भनर चेङगफाले कुनमिङमा आयोजना हुने कुनमिङ साउथ एसिया एक्सोमा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणा समेत दिए ।

प्रकाशित मिति: ९ मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्