चार ठेकेदार कम्पनी कालोसूचीमा



काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटेका तर काम नगरेका चार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐनबमोजिम शनिबारदेखि लागू हुने गरी चार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएका कम्पनीमा सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगर–१३ तीनकुने, शान्ति/राम जेभी भक्तपुर, चौलागाईं निर्माण सेवा खाँडाचक्र नगरपालिका– १ कालीकोट र अरनिको/त्रिशूली जेभी काठमाडौं महानगर–१६ बालाजु छन् ।

शान्ति/राम जेभीलाई तीन वर्ष र अन्य तीनवटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयको सूचनामा उल्लेख छ । अरनिको/त्रिशूली जेभीलाई जिल्ला समन्वय समिति मुस्ताङ, शान्ति/राम जेभीलाई जिल्ला समन्वय समिति जुम्ला, चौलागाईं निर्माण सेवालार्ई जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय कालीकोट र अरनिको/त्रिशूली जेभीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नुवाकोटको आग्रहमा कालोसूचीमा राखिएका हुन् ।

कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सरकारी र सार्वजनिक कुनै पनि निकायको विकास निर्माण र खरिद प्रक्रियाको ठेक्कामा सहभागी हुन पाउने छैनन् । ठेक्का सम्झौता गरी मोबिलाइजेसन खर्च (पेस्की रकम) बुझेर पनि लामो समयसम्म कामै नगर्ने प्रवृत्तिमाथि अंकुश लगाउन कानुनबमोजिम ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीले बताएका छन् । यस्तो कारबाहीले ठेकेदार कम्पनीहरू विकास निर्माणका काम लक्षित समयमा गर्न बाध्य हुने विश्वास ती अधिकारीले व्यक्त गरे ।कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News