अवैध बाटो अमेरिका : २ वर्षमा ९२ जना डिपोर्ट, एजेन्टलाई बुझाएको करोडौं स्वाहा !



काठमाडौँ — घरको आर्थिक संकट टार्न र केही कमाउन श्रमिकको हैसियतमा कतार उड्दा बैरिया–७, रौतहटका मोहम्मद आफताब आलमले भर्खरै १२ पास गरेका थिए । स्थानीय एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएपछि उनको राहदानीमा पाँचवर्षे भिसा टाँसिएको थियो । ०७० माघ २६ मा कतार उडेका उनी पाँच वर्षपछि ०७५ माघ २८ मा स्वदेश फर्किए तर कतारबाट होइन, अमेरिकाबाट ।

खाडी पुगेका मोहम्मद कसरी अमेरिका पुगे ? अमेरिका छिरेका उनी किन फर्किए ? कतार–अमेरिका यात्रामा के भयो ? यी प्रश्नका उत्तरले अमेरिका छिर्ने हुटहुटीमा हन्डर, हिरासत र धोकाको हुन्डरीमा परेर घरखेत गुमाउन पुग्ने धेरै नेपालीको कथा बोल्छन् । पहिले उनकै कथा ।

कतारमा मोहम्मदले एक फोन कम्पनीको सेल्स डिपार्टमेन्टमा काम पाएका थिए । पैसा ठीकै थियो, काम पनि उनका निम्ति उति गाह्रो थिएन । त्यहाँ रहँदा बस्दा उनले आफूजस्तै एक बंगलादेशी कामदारलाई चिनेका थिए । एकदिन फेसबुक चलाइरहेका बेला थाहा पाए, केही दिनअघिसम्म आफ्नै छेउमा बस्ने बंगाली साथी अमेरिका छिरेछ ।

खुबै चासो राखेर उनले बंगाली साथीलाई फेसबुक म्यासेन्जरबाटै सोधे, ‘तिमी कसरी पुग्यौ अमेरिका ?’ एक बंगाली एजेन्टमार्फत मेक्सिको हुँदै अमेरिका छिरेको सुनाएर उसले मोहम्मदको इच्छा बुझे जसरी भन्यो, ‘तिमी पनि आउने भए त्यही एजेन्टलाई भेट ।’ कमाइको केही पैसा जोगाएका मोहम्मदलाई अमेरिका छिर्न पाए झनै धेरै कमाउन सकिन्थ्यो र जीवन सजिलो बन्थ्यो भन्ने लाग्यो । उनले मोहिब अली नामको बंगाली एजेन्टसँग सम्पर्क गरिहाले ।

एजेन्टले सुनायो, ‘४५ हजार रियाल (करिब १४ लाख नेपाली रुपैयाँ) लाग्छ ।’ अमेरिका नै पुगिन्छ भने त्यति पैसा किन नतिर्ने भनेर उनी किस्ता–किस्तामा पैसा बुझाउन तयार भए । एजेन्टले ब्राजिलको पर्यटक भिसा मिलाइदियो । ब्राजिलको साओ पाउलो पुगेपछि उनको अवैध यात्रा सुरु भयो । एजेन्टले भनेअनुसार उनी पेरु हुँदै इक्वेडर पुगे अनि कोलम्बिया छिरे । अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करले पानामा पुर्‍याउन डेरियन ग्याप भनिने जंगली बाटो पैदल हिँडाउँछन् । विषालु सर्प र सन् १९६४ देखि कोलम्बिया सरकारसँग लडिरहेका हतियारधारी गुरिल्ला समूहका कारण यो बाटोलाई धेरैले मृत्युमार्ग पनि भन्छन् । मोहम्मदले सुनाए, ‘डेरियन ग्यापमा हिँड्दा मेरो समूहमा पाकिस्तान, बंगलादेश, भारत र अफ्रिकालगायत विभिन्न देशका गरी झन्डै सय जना जति थिए ।’

क्युबा, सोमालिया, सिरिया, पाकिस्तान, बंगलादेश, नेपाललगायत अफ्रिका र एसियाका देशबाट लुकिछिपी अमेरिका छिर्न हिँडेकालाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिँडाउने गरेका छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले सन् २०१६ मा निकालेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षक प्रतिवेदनले यो डरलाग्दो जंगली यात्रालाई ‘घोस्ट ट्रेल’ नाम दिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘यो जंगल छिचोल्न चाहनेहरू प्रत्येक वर्ष सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।’

पानामा छिरेपछि मोहम्मद केही दिन शरणार्थी शिविरमा बसे । त्यहाँबाट बस चढेर कोस्टारिका पुगे । आप्रवासीले सजिलै देश छोडुन् भनेर सरकारले दिने ‘कन्ट्री आउट पेपर’ बनाएर उनी कोस्टारिकाबाट एजेन्टकै सहयोगमा एक साता जंगलको बाटो हिँडेर निकारागुवा–होन्डुरस हुँदै ग्वाटेमाला पुगे । देशपिच्छेका स्थानीय एजेन्ट, अनेकन् नियम र कष्टकर यात्रा पार गर्दै ग्वाटेमाला पुगेपछि उनी आफूजस्तै ४० जनासँग २५ दिन एउटा घरमा बन्धक जस्तै बने ।

स्थिति ‘अनुकूल’ भएपछि एजेन्टकै सहयोगमा उनी मेक्सिको छिरे । उनले सुनाए, ‘ट्युबले बनेको खतरनाक डुंगामा क्षमताभन्दा धेरै मान्छेसँग अटेसमटेस गरेर ढलपल ढलपल गर्दै मेक्सिको छिरेका थियौं ।’ अमेरिका छिर्न हिँडेका सयौं मान्छेको हूलमा उनी केही दिन मेक्सिको–अमेरिका सिमानामा रहेको तिज्वाना सहरमा बसे । एक दिन एजेन्टले सिकाएअनुसार सरासर मूल बाटो हुँदै अमेरिकी भूमि टेके ।

कागजातबिना सीमा पार गर्न लागेको भन्दै उनलाई अमेरिकी सीमा सुरक्षा अधिकारीले तत्काल पक्राउ गरे । खासमा उनले खोजेकै यही थियो किनकि यसरी पक्राउ परेपछि अध्यागमनको नियन्त्रणमा पुगिन्थ्यो अनि बल्ल सुरु हुन्थ्यो, आप्रवासी बन्ने कानुनी प्रक्रिया । अनेकन् कागजी प्रक्रिया पूरा गर्दै उनी १६ महिनासम्म अमेरिकी अध्यागमनको थुनामा बसे ।

शरणार्थीको मान्यता पाइने आसमा उनी लामो कानुनी चक्करमा प्रवेश गरे । एउटा वकिलले उनीसँग तीन हजार डलर अर्थात् तीन लाखभन्दा धेरै नेपाली रुपैयाँ असुल्यो । उसबाट भनेजस्तो काम नभएपछि उनले अर्को वकिल गुहारे । त्यसले त एउटा सानो कामकै ७ सय ५० डलर असुल्यो । अध्यागमनको थुनामा बसेर कानुनी लडाइँ लड्दालड्दै उनले करिब १० लाख रुपैयाँ गुमाए । तर निष्कर्ष उनले सोचेअनुसार भएन । अन्तत: उनी देश निकाला (डिपोर्ट) मा परे । कतारबाट हिँडेको १९ महिनापछि काठमाडौं उत्रिँदा उनीसँग विभिन्न चरणमा एजेन्टलाई बुझाएको ३० लाख रुपैयाँ र कानुनी प्रक्रियामा खर्च भएको अर्को १० लाख रुपैयाँको ऋणको भारी, हतास मन र अँध्यारो भविष्य मात्रै थियो ।

डिपोर्टपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त उत्रिए, तर कहाँ जाने, कसलाई भेट्ने, कोसँग गुहार माग्ने ? उनीसँग कुनै विकल्प थिएन । उनको हालत देखेर विमानस्थलकै प्रहरीले उनलाई सय रुपैयाँ दिए । त्यही पैसाले उनी तीनकुनेतिर सोझिए । वर्षौं पुरानो सम्झनाको भरमा राति झन्डै १० बजेतिर उनी एक जना साथीको भाइको कोठा ढकढक्याउन पुगे । कतार पुगेको दाइ अचानक कोठामा आइपुगेको देखेर ती भाइ छक्कै परे । मोहम्मदले भने ओत त लाग्न पाइयो भनेर सन्तोष माने ।

भाइकै मोबाइलबाट उनले रौतहतमा बुबालाई फोन गरेर आफू नेपाल फर्केको बताए । मोहम्मदले सुनाए, ‘त्यतिबेलासम्म पनि मेरो घरमा म डिपोर्ट भएर फर्किंदै छु भन्ने थाहा थिएन ।’ उनलाई हारेको अनुहार लिएर घर फर्किन पनि मन लागेन । सुनाए, ‘त्यतिबेला म डिप्रेसनमै गएजस्तो भएको थिएँ । मन थीर थिएन । दिमागमा ऋण मात्रै घुमिराख्थ्यो ।’ कतै पनि मन नअडिएपछि मोहम्मद कामको खोजीमा मुम्बई गए । एउटा होटलमा सात महिना काम गरे अनि बल्ल रौतहट फर्किए ।

अमेरिकाबाट डिपोर्ट भएको झन्डै एक वर्ष पुग्न लागिसक्यो । तर पनि अवैध यात्राको घाउ उनको मनमा चस्किराख्छ किनकि त्यतिबेला एजेन्टलाई बुझाउन लिएको ऋण अझै तिरिसकिएको छैन । घरजग्गा बन्धकी राखेर लिएको ऋणको ब्याजको मिटर प्रत्येक क्षण घुमिराखेको छ । ऋण तिर्नकै लागि पनि मोहम्मदलाई काम गरेर पैसा कमाउनैपर्नेछ । उनले सुनाए, ‘फेरि कतार गएर काम गर्नुपर्‍यो भनेर प्रोसेस चालेको छु । भिसा झर्नेबित्तिकै म्यानपावरले फोन गर्छु भनेको छ ।’

नेपालबाट ल्याटिन अमेरिकी र अफ्रिकी देश हुँदै मेक्सिकोबाट अवैध रूपमा अमेरिका छिराइदिने गिरोहको अन्तर्राष्ट्रिय सञ्जालसँग नेपाली एजेन्टहरूको सम्पर्क बढ्दै जाँदा दुर्गम गाउँमा नेपालीको सर्वस्व गुम्ने मात्र हैन, मुलुकको बदनाम हुने जोखिम पनि बढ्दै गएको छ ।

सर्वस्व स्वाहा
संगठित मानव तस्कर गिरोहका साथ लागेर अवैध रूपमा अमेरिका छिरेर बितेका दुई आर्थिक वर्ष (०७५/७६ र ०७६/७७) मा ९२ नेपाली डिपोर्ट भएका छन् । सबै जना महिनौंसम्म अध्यागमनको नियन्त्रणमा बसेर शरणार्थीको आवेदन अस्वीकार भएपछि डिपोर्ट भएका हुन् । तीमध्ये ८४ जनाले प्रहरीलाई दिएको प्रारम्भिक बयानलाई आधार मान्दा उनीहरूले २१ करोड ४७ लाख रुपैयाँ गुमाएको देखिन्छ । सात जनाले चाहिँ आफूले गुमाएको रकमबारे प्रहरीलाई बताएका छैनन् । प्रहरीका अनुसार एजेन्ट नै आफन्त परेको घटनामा पीडित कानुनी प्रक्रियाबाहिरबाटै रकम उठाउने प्रयत्नमा लाग्ने गर्छन् र प्रहरीलाई फसेको रकमबारे बताउँदैनन् ।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार अमेरिकाबाट डिपोर्ट हुनेहरूले फसाएको रकमका अलावा अमेरिका छिर्नै नपाई बीचबाटै फर्किनेहरूले गुमाएको रकमको हिसाब निकाल्ने हो भने अर्बौं रुपैयाँ नेपाली र अन्तर्राष्ट्रिय एजेन्टका हातमा गएको देखिन्छ । जस्तो कि, मंसिरमा मात्रै अवैध रूपमा अमेरिका छिर्ने भन्दै हिँडेका चार जनालाई अफ्रिकी देश मलावीबाट, पाँच जनालाई इन्डोनेसियाबाट र छ जनालाई इथियोपियाबाट उद्धार गरिएको थियो । ब्युरोले लिएको प्रारम्भिक बयानअनुसार यी १५ जनाले महिनौं लामो अवैध यात्रामा दुई करोडभन्दा धेरै रकम फसाएका छन् ।

मानव तस्करीको अनुसन्धानमा संलग्न प्रहरीहरूका अनुसार यो हवाई टिकटसहित नेपाल, भारत, बंगलादेश, पाकिस्तानदेखि मेक्सिकोलगायत विभिन्न देशका एजेन्टलाई बुझाएको रकम हो । ब्युरोका डीएसपी नरहरि रेग्मीका अनुसार डिपोर्ट भएका अधिकांशले एजेन्टलाई बुझाउने रकम अनौपचारिक स्रोत भनिने स्थानीय साहू/महाजनबाट चर्को ब्याजदरमा लिएका हुन्छन् । उनले भने, ‘मानव तस्करीबाट भइरहेको आर्थिक क्षतिको हिसाब तत्काल डुबेको रकमका आधारमा मात्रै गर्न सकिँदैन ।’ ब्युरोका एक अधिकारीका अनुसार डिपोर्ट भएकाहरूले आप्रवासी मान्यता पाउन अमेरिकामा वकिल र कानुनी परामर्शका नाममा ठूलो रकम खर्चेका हुन्छन् । उनले हिसाब सुनाए, ‘डिपोर्ट भएकाहरूले कम्तीमा पनि कानुनी प्रक्रियाका नाममा जनही १० लाख खर्चेका हुन्छन् ।’

अमेरिकाको टुफट्स युनिभर्सिटीमा अध्ययनरत नेपाली सुविन मुल्मीले केहीअघि ‘ट्रेसिङ दि फाइनान्सियल जर्नी अफ नेपाली माइग्रेन्ट्स’ शीर्षकमा गरेको अध्ययनमा सन् २०११ देखि २०१४ सम्म अवैध बाटोबाट नेपालदेखि अमेरिका पुग्ने पाँच नेपालीले कुल ७४ हजार डलर खर्च गरेको निष्कर्ष निकालेका छन् । उनका अनुसार यीमध्ये चार जनाले थप १८ हजार डलर भने आप्रवासीको मुद्दा लड्ने क्रममा अदालतमा धरौटी राखेको देखिन्छ ।

औसत सटही दरले हिसाब गर्दा पनि अमेरिका यात्रामा पाँच जनाले मात्रै करिब १० करोड रुपैयाँ गुमाएको देखिन्छ । मुल्मीको अध्ययनअनुसार अमेरिका छिरिसकेपछि पनि उनीहरूले कानुनी लडाइँका नाममा थप लाखौं रुपैयाँ सिध्याउँछन् । आप्रवासीको आवेदन अस्वीकार भएर डिपोर्ट हुनेले त लाखौं गुमाएका छन् नै, अदालतमा धरौटी राखेर छुट्नेहरूले पनि लाखौं रुपैयाँ धरौटी बुझाइरहेका छन् ।

अमेरिका सपनाका नाममा सर्वस्व गुमाउनेहरूको सूची लामो भए पनि अवैध रूपमा अमेरिका छिर्न देश छाड्नेहरूको लस्कर जारी छ । मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार यस्ता लस्कर अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न देशदेखि भारतका विभिन्न सहरसम्म छन् । मानव तस्करीको अमेरिका कनेक्सनमाथि लामो समयदेखि अध्ययन गर्दै आएका डीएसपी रेग्मी अहिले पनि दुई सयभन्दा धेरै नेपाली अवैध रूपमा अमेरिका छिर्ने आशामा विभिन्न देशमा लुकिछिपी बसेको बताउँछन् ।

अमेरिकाबाट डिपोर्ट भएर हालै फर्केका रुकुम तकसेराका राम बुढाले दिल्ली–स्पेन हुँदै बोलिभियाबाट पानामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला भएर मेक्सिको पुग्दा कैयन् नेपाली भेटेको बताएका थिए । अमेरिका छिर्नेमा बेरोजगार र आर्थिक रूपमा कमजोर हैसियतका नेपाली मात्रै छैनन् । माओवादीको विद्रोहको बाछिटामा परेका रुकुम र दाङका युवा यस्तो यात्रामा अगाडि देखिन्छन् । पछिल्ला दुई वर्षमा डिपोर्ट भएकामध्ये २५ जना त रुकुमकै छन् भने १५ जना दाङका छन् । अवैध रूपमा अमेरिका छिरेर डिपोर्ट भएकामा सबैभन्दा धेरै अर्थात् ३२ जना कृषि पेसामा आश्रित देखिन्छन् । २० जना विद्यार्थी छन् भने शिक्षण पेसामा रहेका तीन जना छन् । अन्य विभिन्न पेसामा रहेका १२ जना पनि डिपोर्ट भएका छन् । वैदेशिक रोजगारीबाट फर्केपछि अमेरिका छिरेर डिपोर्ट भएकाको संख्या पाँच छ ।

दुई आर्थिक वर्षमा डिपोर्ट भएकामध्ये सबैभन्दा धेरै २० देखि २५ वर्ष उमेर समूहका २६ जना पुरुष छन् । २० वर्षमुनिका एक जना, २६ देखि ३० वर्ष उमेर समूहका २२ जना, ३१ देखि ३५ वर्ष उमेर समूहका २० जना र ३५ वर्षमाथिका २३ जना छन् । यस्तै, तीमध्ये १० कक्षाभन्दा कम पढेका १८ जना र एसएलसी मात्रै पास गरेका ३१ जना छन् । प्लस टु पास गरेका २२ जना, स्नातक सकेका ११ जना र स्नातकोत्तर गरेका तीन जना छन् । फर्किएकामध्ये सात जनाले शैक्षिक योग्यता उल्लेख गरेको देखिँदैन ।

टुफट्स युनिभर्सिटीमा अध्ययनरत सुविन मुल्मी एटलान्टिक समुद्र तरेर गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेकाहरूको आर्थिक पक्ष अनुसन्धान गर्न सन् २०१८ को मेमा मध्यअमेरिकी देश कोस्टारिकासमेत पुगेका थिए । उनले अमेरिका छिर्न हिँडेका नेपालीसँग विभिन्न शरणार्थी क्याम्पमै बसेर अन्तर्वार्ता गरेका थिए । त्यसयता अवैध रूपमा अमेरिका छिर्नेहरूबारे निरन्तर अनुसन्धान गरिरहेका मुल्मीका अनुसार २००७ पछि अमेरिकामा कागजात नभएका आप्रवासीको संख्या दुई सय प्रतिशतले बढेको छ । उनको भनाइले सशस्त्र हिंसात्मक द्वन्द्व सकिएपछिका वर्षमा नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेहरूको संख्या बढेको देखाउँछ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि अमेरिकी सरकारले अवैध रूपमा मेक्सिको हुँदै छिर्नेहरूमाथि निरन्तर कडाइ गरिरहेको मुल्मीले बताए । उनका अनुसार अमेरिकी सरकारले मेक्सिको भएर अमेरिका छिर्नेहरूलाई आप्रवासीको मान्यता दिन केही महिना पहिले मात्रै नयाँ सर्त थपेको छ । यसअनुसार अमेरिका छिर्नुपूर्व कुनै देशमा आप्रवासीको मान्यताका निम्ति आवेदन दिएर नपाएकाहरूले मात्रै अमेरिकामा आप्रवासीको आवेदन दिन सक्नेछन् । मुल्मीका अनुसार सकेसम्म मेक्सिको हुँदै अमेरिका छिर्नै नदिने, छिरेकाहरूलाई पनि कानुनी प्रक्रियामा कडाइ गर्ने र थुनछेक आदेशपछिको धरौटी रकम पनि बढाउने गरिएको छ । उनले भने, ‘अवैध रूपमा अमेरिका छिर्नेहरूको जोखिम र खर्च बढ्दै गएको छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News