उपसचिवले चार करोड ६८ लाख कालोधन आर्जन गरेको खुलासा


 



काठमाडौं, पुस १९
अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले २६ वर्षको जागिरे अवधिमा चार करोड ६८ लाख ४८ हजार अबैध सम्पत्ति आर्जन गरेको भेटिएको छ ।

उनीविरुद्ध अख्तियारमा परेको उजुरीका आधारमा भएको छानबिनमा उनले करिब पौने पाँच करोड अवैध सम्पत्ति आर्जन गरेको भेटिएको हो । सार्वजनिक पदको दुरूपयोग गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको थियो ।

अख्तियारले ढुंगानाले निजामती सेवा प्रवेश गरेको मिति १९ साउन ०४९ देखि ३२ असार ०७५ सम्मको सम्पत्ति छानबिन गरेको थियो । यस अवधिमा उनले आर्जन गरेको वैध सम्पत्ति ७९ लाख ५४ हजार रुपैयाँ मात्र रहेको अख्तियारले जनाएको छ ।

तर, छानबिनमा उनीसँग पाँच करोड ३५ लाख रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । अख्तियारले स्रोत नखुलेको चार करोड ६८ लाख सम्पत्ति ढुंगानाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको कालोधन ठहर गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले ढुंगानाले गैरकानुनी रूपमा आर्जन गरेको चार करोड ६८ लाख जफत गरी पाउन मागदाबी गरेको छ । साथै, उनकी श्रीमती मधु कोइरालाको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ ।

प्रकाशित मिति: १९ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्