चिसोसँगै ह्वात्तै बढ्यो विद्युत् माग


 


काठमाडौं, पुस २२

राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ ।
माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो । जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ ।  

एक्कासि विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ । 

जाडो बढेको खण्डमा अझै विद्युत् माग बढ्न जाने सम्भावना रहेको छ । प्राधिकरणले विद्युत् माग बढ्नुलाई सकारात्मक रुपमा नै लिएको छ । यद्यपि झयाप्प–झयाप्प लाइन काटिदा मर्का पर्ने गरेको उपभोक्ताको गुनासो छ । 

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् माग बढेसँगै देखिएका समस्या समाधानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिनुभएको छ । “सवस्टेशन र ग्रीडमा देखिएको समस्या त करिब–करिब समाधान भइसकेको छ । केही वितरण तथा प्रसारण प्रणालीमा देखिएको उल्झनको समाधानका लागि निरन्तर अनुगमन जारी छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । 

यस्तै राजधानीमा भइरहेको सडक विस्तारका कारण पनि केही स्थानमा अनिवार्य रुपमा लाइन काटिएको छ । प्रवक्ता अधिकारीका अनुसार चक्रपथमा रुख बिरुवा हटाउने कार्यका लागि पनि दिनभरजसो नै लाइन काट्नुपरेको छ । यस्तै समस्या देखिएको स्थानमा नयाँ ट्रान्सफर्मर थप्न तथा ग्रीडको मर्मत तथा सुधारका लागिसमेत एकाध स्थानमा लाइन काटिएको हुनसक्ने उहाँको भनाइ छ ।  “हामीले नियमित रुपमा विश्वसनीय र समान भोल्टेजको विद्युत् उपलब्ध गराउनका लागि प्रयास गरिरहेका छौँ । जाडोको समयमा औसतरुपमा नै बढी विद्युत् माग हुन जान्छ । हरेक घर, कोठामा समेत हिटर र एसी चलेका छन् । त्यसका कारण पनि माग बढी भएको हो, हामी सकेसम्म विद्युत् नकाटिने गरी नै समस्या समाधानमा लागिपरेका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो । 

प्रकाशित मिति: २२ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्